सम्पादकीय

दमक व्यापारिक कम्प्लेक्स तत्काल प्रयोगमा ल्याइयोस्

दमक व्यापारिक कम्प्लेक्स तत्काल प्रयोगमा ल्याइयोस्


सम्पादकीय

झापाको दमकमा डेढ अर्वको लगानीमा निर्माण सम्पन्न भएको व्यापारिक कम्प्लेक्सको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । निर्माण सम्पन्न भएपछि उद्घाटन गर्नु स्वभाविक छ । उद्घाटनपछि तत्कालै प्रयोगमा लैजानुपर्छ । उद्घाटनपछि अलपत्र बनाउन हुदैन । विकासका दृष्टिले विश्वका विकसित देश विर्साउने अग्लो कम्प्लेक्स सरकारले तत्कालै प्रयोजनमा ल्याउनुपर्छ । दमकमा निर्माण सुरु भएदेखी विवाद र आलोचना भएको कम्प्लेक्स सानदार रुपमा निर्माण सम्पन्न भइसकेको छ । अहिले कम्प्लेक्स नजिकै जाँदा दुवई पुगेजस्तो अनुभूति गराउने संरचनामाथि यति धेरै आलोचना भइरहेको छ कि त्यसलाई बुझाउन अवश्य समय लाग्नेछ ।

कम्प्लेक्स बनाउनुको बदला यो गर्नु, त्यो गर्नु भन्दै सूझावहरु पनि नआएका होइनन् । कम्प्लेक्सको बदलामा २ सय नागरिकलाई रोजगारी दिने गरी उद्योग स्थापना गर्नु उचित हुन्थ्यो जस्ता विचार पनि आएका हुन् । कम्प्लेक्सलाई अनेक हिसावले उडाउने काम भइरहेको छ । त्यसको जवाफ सरकारले पूर्ण रुपमा सञ्चालन नगरेसम्म दिन सक्दैन । आज दुई सय जनालाई रोजगारी दिने उद्योग खोलेर देशको बेरोजगारी समस्या हल हुन सक्दैन । एउटा ठुलो पुल बनाएर देशको सबै समस्या समाधान पनि हुदैन । यसको आफ्नै महत्व छ । भारतले ठुला ठुला विकास गरेको छ । त्यहाँ अहिले पनि गरिवीको अवस्था दर्दनाक छ ।

कुनै एउटा कामले देशको सिंगो विकास अवरोध हुने होइन । कम्प्लेक्स बनाउदा बाँकी सबै विकास ठप्प हुने होइनन् । सरकारले विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । यसको महत्व बुझ्न समय लाग्न सक्छ । ब्रुज खलिफा, ट्वीन टावरको महत्व अहिले त्यहाँका नागरिकलाई थाहा भएको छ । संसारले ठुलो व्यापारिक कम्प्लेक्स, टावरबाट पनि आफ्नो पहिचान बनाएको छ । यसैले दमक, झापा र सिंगो नेपाललाई चिनाउन दमक व्यापारिक कम्प्लेक्स महत्वपूर्ण हुन सक्छ । त्यो संरचना सञ्चालन भएपछि हजारौंले रोजगारी पाउने छन् । अर्थतन्त्रमा योगदान हुनेछ । स्थानीय क्षेत्रको विकासमा योगदान गर्नेछ । त्यसैले अहिले नै मजाक उडाइहाल्न हतार नगरौं । त्यसको रचनात्मक प्रयोगमा सल्लाह र सूझाव दिऔं ।

 

शेयर गर्नुहोस :

0
Shares