विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खरिद ऐन र कानुनी प्रक्रिया झण्झटिलो भएकाले कतिपय विकास निर्माणको कामलाई गति दिन नसकिएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले बिहीवार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी प्रदेश स्तरीय अन्र्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले जनताले फास्ट ट्रयाकबाट काम चाहेको तर खरिद ऐन र कानुनलाई सच्याउन नसक्दा समस्या भएको बताउनुभयो ।

कतिपय कानुनहरु झन्झटिला रहेको चर्चा गर्दै उहाँले ऐन, कानुन र प्रकृयालाई सजिलो बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । समाजमा इमान्दार मानिसहरु धेरै रहेको तर केही खराब मानिसहरुले गरेको एउटा खराब कामलाई ठुलो रुपमा प्रचार गर्दा समस्या उत्पन्न भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नकरात्मक भावनाको विकास भएको छ, राम्रो काम देख्दै नदेख्ने तर एउटा खराब कामलाई लिएर प्रचार गर्ने प्रवृत्ति छ ।’
उहाँले अख्तियारले गरेका कामको समेत समिक्षा गर्ने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी जनप्रतिनिधिको कामको समिक्षा गर्छाै, अब अख्तियारले आफ्नो कामको पनि समिक्षा हुनुपर्छ ।’ कतिपय अवस्थामा कानुनले दिएन भनेर काम नगर्ने तर कानुनले दिएको काम पनि नगर्ने प्रवृृत्तिमाथि पनि प्रश्न उठाउनु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले संघीय संसदले ८-९ वर्षमा पनि प्रदेशलाई चाहिने कानुन बनाउन नसकेको औल्याउँदै निजामति कर्मचारी ऐन लगायतका कानुन बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, नगरपालिकाका प्रमुख, उप्रमुखहरु, कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा आयोगका पदाधिकारी तथा कर्मचारीले आयोगको काम कर्तव्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सभापतित्व आयोगका आयुक्त डाक्टर हरि पौडेलले गर्नुभएको थियो ।







प्रतिक्रिया