शिवसताक्षी । झापाको शिवसताक्षीमा ९५ वटा सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ को पशु स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’ मार्फत सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत ९५ कुकुरलाई बन्ध्याकरणसहित रेविज रोग विरुद्धको खोप लगाइएको हो ।

सामुदायिक कुकुरले मानिस तथा पशु चौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको संक्रमण बढाउने, ट्राफिक आवागमनमा असर पुर्याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।
रेविज एक घातक रोग हो जुन प्रायः कुकुरबाट मानिसमा सर्न सक्छ, त्यसैले यसलाई रोक्न खोप र बन्ध्याकरण अत्यन्त महत्वपूर्ण रहेको उपप्रमुख नरमाया कार्कीले बताइन् । उनका अनुसार नगरपालिकाले विभिन्न स्थानहरुबाट कुकुरहरु संकलन गरी खोप केन्द्रसम्म प्रबन्धन मिलाएको थियो ।
उक्त अभियानमा पोथी कुकुरको बन्ध्याकरण गरिएको र भाले कुकुरलाई रेविजरोग विरुद्धको खोप लगाइएको थियो । प्राविधिक सहयोग नेपाल एग्री लाइवस्टोक ट्रनिक एण्ड रिसर्च सेन्टर सुनसरीको रहेको थियो ।
रेविज विरुद्धको खोप र बन्ध्याकरण कार्यक्रम शिवसताक्षी नगरपालिका पशु सेवा शाखाले आयोजना गरेको थियो भने कार्यक्रम शुक्रवारसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।







प्रतिक्रिया