मुख्य समाचार

बिर्तामोडमा खानेपानीको एक हजार नयाँ धारा जडान

बिर्तामोडमा खानेपानीको एक हजार नयाँ धारा जडान


बिर्तामोड । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाले गत आर्थिक वर्षमा एक हजार नयाँ धारा जडान गरेको छ ।

संस्थाको २२ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष मेघराज बास्तोलाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार पानीको माग अत्यधिक बढेकाले नयाँ बसपार्क क्षेत्रमा ओभरहेड ट्यांकी निर्माण गरी अत्याधुनिक डिप बोरिङ जडान गर्ने योजना बनाइएको छ ।

चार करोड तीन लाख रुपैयाँ बचत गरेको देशकै उत्कृष्ट खानेपानी संस्थाको रुपमा चिनिएको संस्थाले तीनवटा ओभरहेड ट्याङ्कीमार्फत उपभोक्तालाई दैनिक दुई करोड १० लाख लिटर पानी वितरण गर्दै आएको छ ।

जसका लागि १६ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लान्टको प्रयोग गर्दै १० हजार उपभोक्तालाई सहज र सुलभ रुपमा चौबीसै घण्टा पानी वितरण गर्दै आएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।

त्यस्तै, संस्थाको सेवा नपुगेको बिर्तामोड नगरको बाँकी भूभागमा संस्थाको सेवा विस्तार गरी नगरको सम्पूर्ण क्षेत्रमा खानेपानी सेवा उपलब्ध गराइने भएको छ । मुक्तिचोकमा वाटर एटिएम स्थापनाका लागि सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने योजना बनाइएको छ ।

“स्वच्छ गुणस्तरीय खानेपानीको उपलब्धता, बिर्तामोड खानेपानी उपभोक्ता संस्थाको प्रतिबद्धता’ भन्ने मुल नारा लिएको संस्थाले कार्यक्रममा उत्कृष्ट जेष्ठ उपभोक्ताहरु जयबहादुर खालिङ राई, देवीमाया आचार्य, उत्कृष्ट कर्मचारी सन्तोष खरेललाई सम्मान गरेको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, सल्लाहकार हर्कलाल गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र थापा, विराट भरत विश्रान्तीका उपाध्यक्ष कुलप्रसाद संग्रौला, चारआली खानेपानीका अध्यक्ष राजन चिमरिया, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता बिमली खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षता, उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares