चैत्र १३, २०८१ बुधबार

फर्पिङ दुर्घटना अपडेटः ३९ घाइतेलाई अस्पताल लगियो

काठमाडौँ, २७ माघ – काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ ।

विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उहाँले बताउनुभयो । अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बा १ क ५६६४ नंको उक्त बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : माघ २७, २०८१ आईतबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]