Banner news

बढ्दो शहरीकरण र स्थायी बालीले झापामा घट्यो १० हजार हेक्टरमा धान खेती

बढ्दो शहरीकरण र स्थायी बालीले झापामा घट्यो १० हजार हेक्टरमा धान खेती


एक दशकमा १० हजार हेक्टर घट्यो : ज्ञान केन्द्र

प्रदीप परियार

बिर्तामोड । बढ्दो शहरीकरण र स्थायी बाली लगाउन थालेपछि झापामा हरेक वर्ष धान खेती घट्दै गएको छ । धान खेती हुने जग्गामा बसोबास र स्थायी प्रकृतिका कृषि बाली लगाउने किसान बढ्दै गएपछि धान खेती घट्दै गइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र झापाका कार्यालय प्रमुख सागर विष्टले एक दशकमा १० हजार हेक्टर जमिनमा धान खेती घटेको जानकारी दिनुभयो । २०७८ सालमा झापामा ८७ हजार ५०० हेक्टर जमिनमा धान खेती गरिएको थियो । कार्यालय प्रमुख विष्टका अनुसार राष्ट्रिय कृषि गणना २०७९ मा ७५ हजार ४६९ हेक्टरमा धान खेती गरिएको तथ्याङक छ । यो वर्षको असार ४ गतेसम्मको विवरण अनुसार झापामा ५१ हजार ७०० हेक्टरमा मात्र धान खेती भएको प्रमुख विष्टले जानकारी दिनुभयो । गत वर्ष यहि समयसम्म ८३ प्रतिशत रोपाई भएको थियो भने यो वर्ष ६८.६ प्रतिशत मात्रै धान रोपाई भएको जनाइएको छ ।

ज्ञान केन्द्र झापाका प्रमुख विष्टले धान खेती कम हुनुको मुख्य कारण शहरीकरण नै भएको बताउनुभयो । सहायक कारणका रुपमा स्थायी प्रकृतिको बालीमा सुपारी सहित अन्य बालीहरु लगाउन थालिएको छ । झापाको बिर्तामोड, दमक क्षेत्रमा बढ्दो शहरीकरणले धान रोपाई घटिरहेको उनको भनाई छ । जिल्लामा सबैभन्दा धेरै धान रोपाई हुने गौरादह, कचनकवल र गौरीगञ्जमा समेत शहरीकरणको प्रभाव परेको छ ।

पछिल्लो वर्ष बुद्धशान्ति गाउँपालिकामा पहाडबाट बसाई सरेर आउने संख्या बढेका कारण धान रोपाई हुने क्षेत्र घटेको विष्ट बताउनुहुन्छ । बसाईसराईले मानव वस्ती बढिरहेको छ, उहाँले भन्नुभयो – घर निर्माण बढेपछि धान रोपाई हुने क्षेत्र स्वतः घट्दै छ ।

गौरादहमा चैते र वर्खे धान १४ हजार २७ हेक्टरमा हुने गरेको छ । गौरादहमा चैते धान ३४ सय हेक्टर र वर्खे धान १० हजार ७ सय ८५ हेक्टरमा हुने गरेको कृषि शाखा प्रमुख शिव न्यौपानेले जानकारी दिनुभयो । शहरीकरणको सामान्य प्रभाव रहे पनि गौरादहमा धान खेती हुने क्षेत्र घटेको भन्न नसकिने न्यौपानेको भनाई छ । अहिलेसम्म गौरादह क्षेत्रमा ६० प्रतिशत रोपाई भइसक्यो, उहाँले भन्नुभयो – बल्ल पानी परेको छ, रोपाई शतप्रतिशत नै हुने संभावना छ ।

मेचीनगर नगरपालिका वडा नं. ४ का सदस्य पवन बराईलीले हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा धान खेती मास्नेहरुको संख्या बढ्दै गइरहेको जानकारी दिनुभयो । धान खेतीमा हात्तीले क्षति पुराउने भएपछि किसानहरुले स्थायी बाली लगाउन थालेको बताउनुभयो । उहाँका अनुसार बाहुनडाँगी क्षेत्रमा धेरै जसो किसानले सुपारी, चिया र कागती बाली लगाइरहेका छन् । हात्तीले कम क्षति गर्ने बाली किसानको रोजाईमा परेको छ । वडा सदस्य बराइली भन्नुहुन्छ, ‘सुपारी, चिया,कागतीसँगै मरिच र तेजपात पनि लगाउन थालिएको छ ।

अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष बिमल निरौलाले उत्पादनपछि किसानलाई बजारीकरण सधै समस्या हुने गरेको बताउनुभयो । लागत धेरै लाग्ने, बजारको समस्या हुने हुँदा किसानमा कृषि उत्पादनमा उर्जा छैन । उपभोक्तामा पनि मसिनो चामलमा आकर्षण बढेपछि स्थानीय उत्पादन कम रोपाईमा पर्न थालेको छ । अध्यक्ष निरौलाले मसिनो चामलका लागि राज्यले किसानलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भारतमा किसानलाई धेरै सुविधा हुने, लागत कम हुने र बजारीकरणको समस्या नहुँदा त्यसको प्रत्यक्ष असर नेपालमा परिरहेको दावी गर्नुभयो । अहिले खडेरी लागेको अवस्था छ, उहाँले भन्नुभयो – यो किसानका लागि जटिल परिस्थिति हो । यसमा सरकारले के गरेको छ ?

शेयर गर्नुहोस :

243
Shares