सम्पादकीय

धान खेतीमा किसानलाई प्रोत्साहन गरौं

धान खेतीमा किसानलाई प्रोत्साहन गरौं


सम्पादकीय

पछिल्ला दिनमा खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गएको छ । बढ्दो सहरीकरण र स्थायी बाली लगाउने क्रम बढेपछि खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गएको विज्ञले औँल्याएका छन् । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार एक दशकमा १० हजार हेक्टर जमिनमा धानखेती लगाउन छोडिएको छ । सरकारी पछिल्लो यो तथ्याङ्कले धेरै कुराको संकेत गर्छ । सामान्यतया यसलाई सहरीकरण भनिए पनि धानखेती घट्नुका हरेक कारण हुनसक्छन् । धान खेती घट्नुको मुख्य कारण किसानले आफ्नो उत्पादन अनुसारको मूल्य नपाउनु पनि हो । लागतसमेत उठ्न नसक्ने परिस्थिति व्यहाेरेका किसान धान खेतीबाट आजित भएका हुनसक्छ । केही हदसम्म बस्ती विकासका क्रममा खेतीयोग्य जमिन मासिएको हुनसक्छ । तर, धानखेती घट्नुको पर्याप्त कारण यही मात्र हो भन्न सकिने अवस्था छैन । श्रम शक्तिको अभावका कारण पनि धानखेती घटेको हुनसक्छ ।

खेती किसानीमा संलग्न हुने एउटा ठूलो शक्ति पलायनको चरणमा छ। युवा शक्ति विदेश पलायन भइरहँदा स्वदेशमा खेती किसानी गर्ने कृषकको संख्या समेत न्यून हुँदैछ । नियमित आउन थालेको रेमिटेन्सका कारण खेती किसानीमा संलग्न समूहसमेत बिस्तारै यसबाट टाढा हुने अवस्थामा छ । धान खेतीको क्षेत्रफल घट्नु आफैँमा दुःखद विषय हो । यसले बढ्दो परनिर्भरतालाई संकेत गर्छ । आयातमुखी अर्थतन्त्र भएको हाम्रो जस्तो देशमा कृषियोग्य जमिन घट्नु दुर्भाग्य हो । खाद्यान्न माथिको परनिर्भरता कम गर्ने हो भने आधुनिक खेती प्रणालीमा किसानलाई प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्छ ।

किसानले उत्पादन गरेको धानको उचित मूल्य दिने वा सरकार आफैंँले खरिद गर्ने परिस्थिति निर्माण गर्न सकियो भने पनि एउटा महत्वपूर्ण उपलब्धि हासिल हुनसक्छ । भएको कृषियोग्य जमिनको संरक्षण गर्दै आधुनिक खेती प्रणालीमा संलग्न हुने, परम्परागत बालीको जगेर्ना गर्ने र आफ्ना लागि मात्र होइन अरुका लागि समेत पर्याप्त मात्रामा पुग्ने गरी अन्नबाली उत्पादन गर्ने कार्यमा किसानलाई सरकारले अनुदानको व्यवस्था मिलाउनुपर्छ ‌। नेपाल जस्तो देशले धान चामल आयात गरेर खानुपर्ने परिस्थिति निम्तिनु ज्यादै लाजमर्दो विषय हो ।

शेयर गर्नुहोस :

54
Shares