सम्पादकीय
झापामा लागुऔषध दुव्र्यसन र कारोवारको विषय गम्भीर बन्दै गइरहेको छ । जिल्लाभित्र प्रहरीले पक्राउ गरेका घटनाले यहाँको अवस्था दिनप्रतिदिन डरलाग्दो बनिरहेको स्पष्ट हुन्छ । केही महिनादेखि यता झापामा लागुऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालयले कारोवारी नियन्त्रणमा आक्रमक भएको स्पष्ट छ । कारोवारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको अवस्था छ । ठुला कारोवारीहरु प्रहरीमाथि नै जाइलागेपछि बल प्रयोग गर्न थालेको छ । प्रहरीले गोली चलाएर नै केही कारोवारीहरुलाई नियन्त्रणमा लिएर अहिले अनुसनधान अघि बढाएको छ । जिल्ला कारागारमा राखेर अनुसन्धान गरिरहेको प्रहरलिे नेपाली कारोवारी समेत खोजिरहेको छ ।
राष्ट्रका लागि चुनौति बनिरहेको लागुऔषध दुव्र्यसनले समाजमा ठुलो क्षति गरिरहेको छ । थाहा नपाउने गरी जरो गाढि रहेको लागुऔषधको बढ्दो कारोवार र प्रयोगले अपराध वृद्धि गरिरहेको छ । अपराध सिर्जना गर्न लागुऔषध अहिले मुख्य कारण नै बनिरहेको छ । सामाजिक रुपमा असाध्यै ठुलो समस्या बन्दै गएको लागुऔषध कारोवार नियन्त्रणमा समाजमा रहेको सबै जिम्मेवार निकायले ध्यान दिन अपरिहार्य छ । यदि प्रहरीकै मात्र भरोसा गर्ने हो भने प्रहरी जनशक्तिले धान्ने अवस्था छैन । यस तर्फ सबै नै सचेत हुन आवश्यक छ ।
लागुऔषध व्यूरोले नियन्त्रणमा गरिरहेको कडाईले देशभर कारोवारी पक्राउको दरमा वृद्धि भएको छ । कारोवारहरु यसैगरी निरन्तर पक्राउ हुने हो भने प्रयोगकर्ताहरुको संख्या पनि घट्दै जानेछ । अहिले सीमा क्षेत्रमा भारतीयहरु धमाधम पक्राउ पर्नुले नेपाली कारोवारीहरु धेरै जसो नियन्त्रणमा आइसकेको पनि स्पष्ट हुन्छ । आगामी दिनमा पनि प्रहरीले कारोवारी समात्न यसैगरी एक्सनमा जानुपर्छ । भारतीयहरुलाई पक्राउ गर्दै कारागार चलान गर्ने हो भने पनि यस क्षेत्रमा नियन्त्रणको आभास हुने निश्चित छ । त्यसका लागि समुदायको तर्फबाट पनि सहयोग गर्दै जानुपर्छ ।







प्रतिक्रिया