सम्पादकीय
नेपाल धार्मिक एवम् पर्यटकीय गन्तव्यका हिसावले सम्पन्न छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय सम्पन्नताले देशलाई संसारभर परिचित समेत गराएको छ । प्राकृतिक स्रोत सम्पदाले भरिपुर्ण नेपालमा पर्याप्त रुपमा उपयोग गर्न सकिरहेको अवस्था छैन । विश्वका धेरै राष्ट्रहरु पर्यटन क्षेत्रकै आम्दानीले सम्पन्न भइसकेका छन् । प्राकृतिक रुपमा सम्पन्न राष्ट्र भए पनि उपयोगिताका हिसावले कमजोर हुँदा आम्दानी राम्रो हुन सकिरहेको छैन । अझ, नेपाल सुन्दर राष्ट्रहरुमध्येको एक हो । यहाँ बनावटीभन्दा धेरै प्राकृतिक सुन्दरता धेरै छ ।
मुलुकको विभिन्न स्रोतहरुमध्येको पर्यटन क्षेत्रलाई सबै तहमा प्राथमिकता दिनुपर्छ । संघीय संरचना बमोजिम पर्यटन क्षेत्रलाई पनि विभाजित गरेर प्रवद्र्धन गर्दै जानुपर्छ । पर्यटन क्षेत्रमा लगानी गर्दा नोक्सान हुदैन । यसको उदाहरण हो, झापाको दोमुखा पर्यटकीय क्षेत्र । शिवसताक्षी नगरपालिकाले स्थानीय पर्यटकीय क्षेत्रमा वर्षेनी लगानी गरिरहेको छ । पर्यटकीय क्षेत्रमा गरिरहेको लगानीले प्रतिफल पनि दिइरहेको छ । पर्यटकीय क्षेत्रसम्म जाने सडक पूर्वाधार मर्मत गर्दा एकै वर्षमा ८२ लाख बढी आम्दानी भयो । आम्दानीको ३० प्रतिशत रकम नगरपालिकाले पाउने गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिकाले दोमुखा मात्र होइन, अन्य धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुमा पनि लगानी गरिरहेको छ । विकासको क्षेत्रका रुपमा धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई पनि प्राथमिकता दिएर जानुपर्छ । स्थानीय सरकारको आम्दानी, रोजगारीको सिर्जना गर्ने गरि स्थानीय तहले लगानी गर्दै जान अनिवार्य छ । पर्यटकीय क्षेत्रमा गर्ने लगानीले स्थानीय सरकारलाई मात्र होइन, सबैलाई नै फाइदा पुग्छ । यसैले पर्यटकीय क्षेत्रलाई बलियो आम्दानीको स्रोत बनाउन लगानीलाई पनि वृद्धि गर्नुपर्छ । सबै स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले पर्यटन क्षेत्रको विकासमा पर्याप्त लगानी गर्नुपर्छ ।







प्रतिक्रिया