बिर्तामोड । निर्माणाधिन एसियन हाइवेको बिर्तामोड क्षेत्रमा बन्न लागेको ओभरपासमा पिलरको प्रयोग गर्नै नसकिने बताइएको छ । ओभरपासको दुवै भागमा पर्खाल हुने काँकरभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका योजना प्रमुख ई.सुनिलबाबु पन्तले स्पष्ट बनाएका छन् ।

शुक्रवार बिर्तामोडमा आयोजित सार्वजनिक सुनुवाईमा स्थानीय व्यवसायी र सरोकारवालाको जिज्ञासामा जवाफ दिदैं पन्तले भारतमा हजारौं किमि सडक निर्माण गर्दा पनि पिलरसहितको ओभर राख्ने अभ्यास नभएको बताए । उनले सडक निर्माणका लागि सम्झौता गरेको समय आधा वितिसकेकाले अब डिजाइन परिवर्तन गर्न नसकिने स्पष्ट पारे । सडकको डिजाइन पास भएपछि मात्रै एडिवीसँग ऋण सम्झौता भएको हो, उनले भने – समय आधा सकियो, अब डिजाइन परिवर्तन संभव छैन ।
ओभरपासमा वारिपारी गर्नका लागि अण्डरपासको समेत व्यवस्था गरिएको पन्तको भनाई छ । मुक्तिचोक पूर्व २०० मिटर र पश्चिम तर्फ ३९० मिटर ओभरपास हुने छ । पूर्व तर्फ बुट्टाबारीदेखि घाग्रा खोलासम्म ६ लेनको सडक निर्माण गरिने पन्तले जानकारी दिए । उनले बिर्तामोडको मुक्तिचोक क्षेत्र व्यवस्थित र सुन्दर हुने जानकारी दिए । व्यवसायीहरुले पर्खालका कारण व्यापारमा समस्या हुने र कुरुप बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
डेढ हप्तापछि चारपानेमा ओभरपासको काम सुरु गरिदैछ भने अबको डेढ वर्षपछि काम सक्ने योजना छ । आउने असार महिनासम्म आधार क्षेत्रमा कालोपत्रे सक्ने छौं, पन्तले भने – पाँच किमिको एक भाग सक्दै अर्को भागमा कालोपत्रे गरिनेछ । आवतजावतमा सजिलो बनाउन पाँच-पाँच किमिमा कालोपत्रे गरिनेछ ।
एसियन हाइने स्टाण्डर र नेपाल रोडको मापदण्ड बमोजिम का भइरहेको पूर्व खण्डमा बिर्तामोड, चारपाने र बिर्तामोडमा ओभरपास बन्ने छ । चारपानेको ओभरपासको काम सुरु गरेपछि बिर्तामोड क्षेत्रमा काम गरिनेछ । ओभरपास क्षेत्रमा पिलर राख्ने विषय दुर्लभ हो, पन्त भन्छन् – अहिले जे जसो लागे पनि पछि बजार सुन्दर नै देखिनेछ, व्यापारमा ओभरपासकै कारण कमी हुने छैन ।
निर्माण जारी रहेको एसियन हाइवेमा सर्वसाधरणले अहिले दुख पाइरहे पनि राम्रैको लागि काम गरिरहेको उनको भनाई छ । पछिको राम्रोका लागि अहिले दुख नै हुन्छ, उनी थप्छन्, कसेसम्म कसैलाई धुलो खान नपरोस्, दुख नहोस होस् भन्ने सचेत छौं ।







प्रतिक्रिया