सम्पादकीय

उपभोक्ता फरक–फरक मुल्यको मारमा

उपभोक्ता फरक–फरक मुल्यको मारमा


सम्पादकीय
बजारमा नियमित अनुमगन हुनुपर्छ । उपभोक्ताका लागि नियमित अनुगमन हुनुपर्छ भने पनि व्यवसायीहरु त्यसको पक्षमा हुदैनन् । अनुगमन विनाको बजार लापरबाही ढंगबाट सञ्चालित हुन्छ । त्यसले उपभोक्तालाई मारमा पारिरहेको हुन्छ । झापा बिर्तामोडलगायत विभिन्न बजार क्षेत्रमा अहिले नियमित अनुगमन भइरहेको छैन । अनुगमन नहुँदा उपभोक्ताहरू व्यापारीहरूसँग मनपरी मूल्य तिरेर सामान किन्न बाध्य छन् । उपभोक्ताहरुले मनपरी मुल्य लिएको विषयमा गुनासो बढ्दै गएको छ । उपभोक्तालाई सुरक्षित खाद्यवस्तु र मुल्यमा एकरुपता होस भन्ने चाहना छ ।

अहिले एउटै वस्तुको मूल्य पसलअनुसार फरक–फरक परिरहेको छ । खानेतेल होस् वा तरकारीजन्य वस्तुमा मुल्यमा एकरुपता छैन । मनपरी मुल्य राखेर उपभोक्तामाथि अन्याय गर्न मिल्दैन । उपभोक्ता अधिकारमाथि व्यवसायीले ख्याल गरेको अवस्था छैन । व्यापारीहरु आफ्नो ढंगले व्यापार गरिरहेका छन् । उनीहरुलाई व्यापारसँग मात्रै मतलव छ । नेपालमा उपभोक्ता अधिकार सुनिश्चित गर्ने कानुन भए पनि यसको कार्यान्वयन भने कमजोर देखिएको छ । बजारमा मूल्यसूची टाँस्ने संस्कार अझै देखिदैन । गुणस्तरीय मापदण्डको निगरानी अपुरो छ । उपभोक्तालाई ठगीविरुद्ध उजुरी गर्ने वातावरण सहज छैन ।

बजार अनुगमनको जिम्मा पाएको निकायले नियमित अनुगमन र कारबाही गर्दै जानुपर्छ । उपभोक्ताले आफ्नो हक गुमाउँदै गएको अवस्थामा राज्यको संयन्त्र मौन बस्न मिल्दैन । स्थानीय सरकारले पनि विशेष ध्यान दिनुपर्छ । व्यापारीहरूले पनि मुल्यमा एकरुपताको संस्कार बसाल्नुपर्छ । उपभोक्ताको विश्वास जित्न नसक्ने व्यवसाय दीर्घकालीन टिक्दैन भन्ने बुझाई हुन आवश्य छ । झापाजस्तो व्यावसायिक केन्द्रमा मूल्य एकरूपता र गुणस्तरीयतामा सतर्कता अपनाउन सके स्वस्थ बजारको आधार तयार हुने थियो । त्यसैले, अब सम्बन्धित निकायहरू उदासीन नभई सक्रियता पूर्वक अनुगमनलाई अघि बढाउन जरुरी छ । उपभोक्ताको पक्षमा काम गर्न अनुगमनलाई प्राथमिकता दिनैपर्छ ।

शेयर गर्नुहोस :

54
Shares