बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको बुधबारे हटिया खाली गरेको दुई वर्ष वितेको छ । बहुतले व्यवसायिक भवन निर्माण गर्ने प्रयोजनले खाली गरिएको ठाउँमा अहिलेसम्म काम सुरु नहुँदा प्रश्न उठ्ने गरेको छ ।
घेरावारा गरेर सुरक्षित राखिएको बुधबारे हटियामा व्यवसायिक भवन किन बनेन भन्ने प्रश्न शुक्रवार एक कार्यक्रममा उठेको थियो । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले प्रश्न उठेपछि बुधबारे हटिया बारे यहाँका व्यवसायी र सरोकारवालाई जवाफ दिनुभयो ।

नगरवासी र सरोकारवालाका दुई प्रकृतिका धारणा आएपछि काम अघि नबढाएको स्पष्ट बनाउनु भयो । सो ठाउँलाई पार्कको रुपमा निर्माण गर्नुपर्ने मत पनि धेरै भएपछि भवनको काम सुरु नगरिएको उहाँको भनाई छ । बिर्तामोडमा विपत्ति आउँदा सुरक्षित बस्ने ठाउँ छैन, त्यो हाट क्षेत्रलाई खाली नै वा पार्कको रुपमा निर्माण गर्नुपर्छ भन्नेहरु धेरै हुनुहुन्छ, नगर प्रमुख प्रसाई प्रसाईले भन्नुभयो– यस्तै व्यवसायिक भवनहरु निर्माण थालेर अलपत्र पनि भएको देखियो । नगर विकास कोषसँग ऋण लिएर भवन बनाउदा भुक्तानी गर्न पनि गाह्रो पर्ने चिन्ता छ । सबै क्षेत्रको धारणाहरु बुझ्ने काम भइरहेकोले निर्माणलाई हतार गरेर असफल हुनुभन्दा अलि विस्तारै बुझेर अघि बढ्ने सोच राखेको जवाफ दिनुभयो ।
नगर प्रमुख प्रसाईले भन्नुभयो, बुधबारे हटियाको विषय मेरो मात्र विषय होइन । यो साझा विषय हो । यस सन्दर्भमा सोचविचार गरेर काम गर्नुपर्छ भन्ने ठानेको छु ।
कुल लागतको ९० प्रतिशत लगानी गर्ने नगर विकास कोषले ठाउँ खाली गरेपछि प्रक्रिया अघि बढाउने भनेको थियो । ठाउँ खाली गरेपछि डिपीआर, आर्थिक मुल्याङकन गरी लागतको ९० प्रतिशत लगानी गर्ने भनिएको थियो । लगानी अनुसार आम्दानी हुने अवस्था कमजोर देखेर नगरपालिकाले हतारमा काम सुरु गर्न नचाहेको बुझिएको छ ।







प्रतिक्रिया