Banner news

बिर्तामोडमा व्यापारीका कार्यक्रममा एउटै गुनासो ‘क्योसिनोले बर्बाद बनायो’

बिर्तामोडमा व्यापारीका कार्यक्रममा एउटै गुनासो ‘क्योसिनोले बर्बाद बनायो’


क्यासिनो खेलेर घरजग्गा किनेको सुनेको छैन : सिडिओ अधिकारी

बिर्तामोड । झापाको बिर्तामोडमा व्यवसायीहरुसँग सम्बन्धित सार्वजनिक सरोकारका कार्यक्रमहरुमा सधैं उठ्दै आएको विषय हो, क्यासिनो । व्यवसायीहरुलाई क्यासिनोले बर्बाद बनाइसकेको भन्दै कार्यक्रमहरुमा कडाई गर्नुपर्ने माग उठ्दै आइरहेको छ ।

नेपालीलाई क्यासिनोमा प्रतिबन्ध गरिएको छ । लुकिछिपी नेपाली व्यवसायीहरु क्यासिनो खेलेर लाखौं करोडौं रुपैयाँ सिध्याएर सडक आउने परिस्थिति भइरहेको कार्यक्रमहरुमा सुनाउने गरिएको छ । स्थानीय सुरक्षा निकाय र प्रशासनले क्यासिनोमा कडाई गर्नुपर्ने प्रायः सबै व्यवसायीसँग सम्बन्धित कार्यक्रमहरुमा माग हुँदै आइरहेको छ । सो माग उपर नियमनको प्रयास भइरहेको पाइदैन ।

बिर्तामोडका कतिपय व्यवसायीहरु क्यासिनोका कारण बर्बादी हुने अवस्थामा पुगेको अगुवा व्यवसायीहरुको धारणा छ । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले क्यासिनोका कारण व्यवसायिक परिवारहरु अप्ठ्यारोे अवस्थामा पुगेको बताउछन् । उनले पटक–पटक क्यासिनोबाट पीडित परिवारहरु आफ्नो सम्पर्कमा आउने गरेको बताउदै आएका छन् ।

हालै बिर्तामोडमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले नेपालीहरु क्यासिनो जानै नमिल्ने बताए । क्यासिनो नजाने हो भने कुनै समस्या नै आउदैन, उनले भने – क्यासिनो गएर कसैले घरजग्गा किनेको सुनेको छैन । त्यसैले त्यहाँ जान पनि मिल्दैन । उनका अनुसार क्यासिनोमा कसैले पनि जितेर आउदैन । खेल्न जान मिल्दैन भनेपछि जानु हुदैन, उनले थपे ।

व्यवसायीहरुले पटक – पटक गुनासो गरेपछि प्रजिअ अधिकारीले प्रहरीलाई निगरानी बढाउन निर्देशन दिएका छन् ।
नेपाली व्यवसायीहरुले भारतबाट परिपत्र बनाएर क्यासिनो छिर्ने गरेको बिर्तामोडमा चर्चा हुने गरेको छ । यता, कतिपय व्यवसायीहरुले व्यवसायीका नेताहरु समेत क्यासिनो हेर्न जाने गरेको सूचना दिएका छन् । क्यासिनो खेल्नका लागि पैसावाल व्यापारीहरुलाई कन्भिन्स गर्न विभिन्न गिरोह नै परिचालन गरिएको समेत सूचना बाहिर आएको छ ।
झापामा बिर्तामोड र मेचीनगर क्षेत्रमा क्यासिनो सञ्चालनमा रहेका छन् ।

शेयर गर्नुहोस :

2.7k
Shares