बिर्तामोड । नेपाल निजामति कर्मचारी संगठन झापाले जिल्ला स्तरीय प्रशिक्षण सुरु गरेको छ । कर्मचारीहरुलाई सेवामा थप प्रतिवद्ध र प्रभावकारी सेवाका लागि विशेष प्रशिक्षण सुरु गरिएको हो ।
झापा जिल्ला स्तरीय दुई दिवसीय प्रशिक्षण आजदेखि सुरु भएको हो । निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरु सहभागी भएको प्रशिक्षणमा संगठनको केन्द्रीय नेतृत्वहरुले प्रशिक्षण प्रदान गर्ने झापाका सचिव पुर्णभन्द्र मैनाली (उदय)ले जानकारी दिए ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा ट्रेड युनियन आन्दोलन कर्मचारी संगठन र आधिकारिक ट्रेड युनियन, राष्ट्र सेवक सहकारीको विकासक्रम र संगठनको अन्तर सम्बन्ध, जबज र नेकपा एमाले, नेपाल निजामति कर्मचारीको आगामी कार्यभार र संगठन सुदृढिकरण, संगठनमा आर्थिक व्यवस्थापन, नागरिक शिक्षा राष्ट्रसेवक कर्मचारीमा रहनुपर्ने नैतिकता सदचार तथा व्यवसायिकता विषयक सहजीकरण हुने सचिव मैनालीले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहाल, बरिष्ठ उपाध्यक्ष रेवन्त गौतम, एमालेका केन्द्रीय सदस्य एवम् झापाका इञ्चार्ज रोमनाथ ओली, महासचिव रामचन्द्र अधिकारी, उपत्यका विशेष कार्यसमितिका इञ्चार्ज गणेश प्रसाद आचार्यले प्रशिक्षण प्रदान गर्ने छन् ।
प्रशिक्षणको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संगठनको केन्द्रीय अध्यक्ष भवानी दाहालले संगठनको मुख्य धर्म राज्यलाई सहयोग गर्नु भएको बताएन् । उनले संघीय व्यवस्थालाई सफल बनाउनु कर्मचारीको दायित्व भएको धारणा व्यक्त गरिन् । प्रमुख अतिथि दाहालले कर्मचारीको संरक्षण र राज्यप्रति सहयोगी भूमिका निर्वाह गर्दै जाने रणनीति रहेको बताइन् ।
सबै सदस्यहरु कुशल राष्ट्रसेवकको रुपमा स्थापित हुनुपर्ने भन्दै सेवाग्राहीलाई सहजै सेवा प्रवाह गरेर उदाहरणीय कर्मचारी बनेर देखाउनुपर्छ, उनले भनिन् – ‘अहिले कर्मचारीबीच संघ, स्थानीयबीच विभेद भइरहेको पाइन्छ । कर्मचारीबीचको विभेद अन्त्य हुनुपर्छ ।’
कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, संगठनका कोशी प्रदेश अध्यक्ष हरि प्रसाद सुवेदी, केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज वशिष्ठ अधिकारी, सहइञ्चार्ज खोम खालिङ राई लागयतले शुभकामना मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव उदय मैनालीले गरेका थिए । बिर्तामोड नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा गन्दर्भ युवाहरुले गीत प्रस्तुत गरेका थिए । प्रशिक्षणको प्रारम्भमा सञ्चारकर्मी लिला अनमोलले कर्मचारीहरुलाई सकारात्मक सोच सम्बन्धी सहजीकरण गरेकी थिइन् ।







प्रतिक्रिया