Banner news

साझा ठाउॅँमा मुक्तिचोकको स्तम्भ सारिने

साझा ठाउॅँमा मुक्तिचोकको स्तम्भ सारिने


बिर्तामोड । बिर्तामोडको मुक्तिचोकमा ओभरपास बन्ने भएपछि स्तम्भ सार्ने विषयमा छलफल सुरु भएको छ ।

बिर्तामोडको एउटा पहिचानको रुपमा रहेको ‘जनआन्दोलन स्मृति स्तम्भ’ को व्यवस्थानको लागि छलफल सुरु भएको हो । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको पहलमा छलफल सुरु भएको हो ।

स्तम्भ व्यवस्थापन बारे बिहीवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल लगायत सरोकारवालाहरुले अनुगमन गरेका छन् । नक्सा अनुसार चोक क्षेत्रमा ओभर पास बन्ने छ ।

उपयुक्त स्थानको खोजी गरेर पुरुष र महिलाको आकृति रहेको जनआन्दोलन स्मृति स्तम्भ सार्नु पर्ने अवस्था आएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् । यसका लागि सरोकारवालाहरुसँग बसेर छलफल गर्ने बताइन् । गोपालकुमार बस्नेतको अध्यक्षतामा जनआन्दोलन स्मृति प्रतिष्ठानद्वारा निर्मित उक्त स्तम्भको २०६६ वैशाख ६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले नेता केपी शर्मा ओलीले उद्घाटन् गरेका थिए ।

मन्त्रीसहितको अनुगमनका क्रममा एसियन हाइवे काँकरभिट्टा– लौकही सडकको पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तले ओभरपासका बारेमा जानकारी गराएका थिए । उनले स्थानीय तह र सरोकार पक्षको सूझावका आधारमा व्यवस्थित गरिने बताए ।

जनआन्दोलन स्मृति प्रतिष्ठानका महासचिव हरिचरण शिवाकोटीले कुनै पार्टीगत नभई सबैको अपनत्व हुनेगरी साझा पार्कको खोजी गरेर स्तम्भ सार्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

अनुगमनमा संविधानसभा सदस्य सुधिर सिवाकोटी, राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, कोशी प्रदेशका सांसद होमबहादुर थापा, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष मदन बुढाथोकी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

4.2k
Shares