सम्पादकीय

मुक्तिचोकको स्तम्भलाई सार्वजनिक पार्कमा राखौं

मुक्तिचोकको स्तम्भलाई सार्वजनिक पार्कमा राखौं


सम्पादकीय

पूर्वपश्चिम लोकमार्गमा अहिले धमाधम एसियन हाइवे निर्माणको काम जारी छ । पूर्व खण्डमा ४५ किमि सडक क्षेत्रमा सडक निर्माणको काम चलिरहेको छ । यसै सडक निर्माण परियोजनाभित्र विभिन्न स्थानमा ओभरपास बन्ने छन् । व्यस्त सडक र भीडभाड हुने ठाउँहरुमा ओभरपास बनाउने तयारी छ । त्यसका लागि सर्वसाधारण नागरिक र सरोकारवालाबीचमा जानकारी समेत गराइएको छ । ओभरपास बारे जानकारी गराइए पनि नागरिकको तर्फबाट फ्लाईओभर बन्नुपर्छ भन्ने माग थियो । ओभरपासले व्यापारमा अवरोध गर्न सक्ने व्यवसायीहरुको गुनासो पनि छ ।

एसियन हाइवे निर्माणका क्रममा कतिपय ठाउँमा निर्मित डाइभर्सनहरुमा असाध्यै समस्या छ । यातायात आवतजावत गर्न पनि समस्या छ । आवतजावतका भइरहेको अप्ठ्यारोको सन्दर्भमा गुनासो राख्ने काम भइरहे पनि समाधानको प्रयास गरिएको छ । राम्रै काम सुरु गर्दा पनि सुरुवातमा गाह्रो हुने निर्माण पक्षको तर्क छ । यसैबीचमा पर्ने झापाको बिर्तामोडको मुक्तिचोकमा रहेको जनआन्दोलन स्मृति स्तम्भ पनि भत्काइदैछ । बिर्तामोडको एउटा चिनारीको रुपमा रहेको स्तम्भको महत्व छ । यसले नेपाली नागरिकको मुक्तिको प्रतिकका रुपमा पनि चिनाएको छ । यसैले पनि मुक्ति स्तम्भको संरक्षण हुन आवश्यक छ ।

विकास निर्माणले कुनै पनि ठाउँको स्वरुपमा अवश्य परिवर्तन ल्याउछ । विगतमा जस्तो थियो त्यस्तै हुनुपर्छ भन्ने मान्यता पनि राख्न हुदैन । पञ्चायतकालमा संरचनाहरु अहिले धेरै जसो छैनन् । किनभने, मुलुकमा विकासले धेरै फड्को मारेको छ । यसैले मुक्ति चोक पनि जस्ताको त्यस्तै रहनुपर्छ भन्ने मान्यता राख्न हुदैन । बिर्तामोड मुक्ति चोकको स्तम्भलाई मासेर फाल्नु हुदैन । बिर्तामोड क्षेत्रको कुनै एक सार्वजनिक स्थानमा राखेर यसको संरक्षण गर्न सकिन्छ । स्थानीय सरकारले यसको व्यवस्थापन मिलाउनुपर्छ । यो स्तम्भ सार्वजनिक सम्पत्ति भएको छ, यसको संरक्षण र व्यवस्थापन गर्ने दायित्व पनि बिर्तामोड नगरपालिकाले मिलाउनुपर्छ । तर, ओभरपासकै आसपास राख्न भने दिन हुदैन । चोक क्षेत्रमा भन्दा पनि अब पार्क तिर राख्ने योजना बनाउनु राम्रो हुनेछ ।

शेयर गर्नुहोस :

54
Shares