बिर्तामोड । जिल्ला सुरक्षा समिति झापाले अर्को सूचना जारी नभएसम्म कर्फ्यू हटाउने निर्णय गरेको छ । आज बसेको सुरक्षा समिति बैठकले भदौं २३ र २४ गतेको जेन जी नेतृत्वको आन्दोलन समाप्त भए पश्चात जिल्लामा शान्ति र सुव्यवस्था कायम राख्न कर्फ्यू आदेश जारी गरिएकोमा स्थिति सामान्य बन्दै गएकाले अर्को सूचना जारी नभएसम्मको लागि आजबाट कर्फ्यू हटाएको हो ।
यस्तै, जिल्लामा अझै पनि कतिपय स्थानहरुमा प्रहरी इकाईहरु नभएकाले सबै सुरक्षा निकायहरुबीच एकआपसमा प्रभावकारी समन्वय र सूचना आदान प्रदान गरी शान्ति सुरक्षा र अमनचयन कायम राख्ने निर्णय गरिएको छ। यस सन्दर्भमा प्रहरी निकायको उपस्थिति नभएको अवस्थामा रातको समयमा लुटपाट, आगजनी, हत्या तथा अन्य उच्छृङ्खल गतिबिधि हुन सक्ने सम्भावनालाई आज अपरान्ह सुरक्षा समितिको बैठकमा छलफल र बिश्लेषण गरी आवश्यक निर्णय लिने प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद दाहालले जानकारी दिए ।







प्रतिक्रिया