बिर्तामोड । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
सोमवार सूचना जारी गर्दै नगरपालिकाले भदौ २३ र २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा अवाञ्छित तत्वहरुले नगरपालिका र वडा कार्यालयबाट विभिन्न प्रकारका सामान लुटेको भन्दै इमान्दारीका साथ फिर्ता गर्न आग्रह गरेको हो ।

नगरपालिकाले तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि जनाएको छ ।
नगरपालिकाले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक व्यक्त गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको बताउँदै दुःख व्यक्त गर्नुभयो । सोमवार नगर अस्पतालमा बसेको नगर कार्यपालिकाको बैठकमा उहाँले आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
प्रहरी प्रशासन अभावका कारण तत्कालका लागि शान्ति सुरक्षाको जिम्मेवारी टोल विकास समितिहरूलाई समूह बनाएर गस्ती गर्ने गरी व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले आन्दोलनका कारण प्रभावित पठनपाठनलाई निरन्तरता दिन दशैं र तिहारको बिचमा समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य प्रहरी चौकीहरू स्थापना गर्न आवश्यक सहजीकरण गर्ने निर्णय पनि कार्यपालिकाले गरेको छ ।
नगरपालिकाले भवनमा आगजनी हुँदा भौतिक संरचना र महत्वपूर्ण कागजात नष्ट भएकाले तत्काल सेवा सुचारु गर्न नसकिने जनाएको छ । नगरले वडा कार्यालय सहितको क्षतिको विवरण संकलन कार्य भईरहेको जनाएको छ ।
कार्यालयमा सरसफाईको काम सुरु गर्ने नगरका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिनुभयो । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी राजन लिम्बु, सशस्त्र प्रहरीका एसपी तुलबहादुर भण्डारीसहितको टोलीले क्षतिग्रस्त कार्यालयको निरीक्षण गरेको छ ।







प्रतिक्रिया