बिर्तामोड । नेकपा एमाले झापाले नेता कार्यकर्ता र जनप्रतिनिधिहरुको घरमा भएको तोडफोड तथा आगजनीको अवलोकन सुरु गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओली, जिल्ला अध्यक्ष प्रेम गिरीसहितको टोलीले स्थलगत अवलोकन सुरु गरेको हो ।
सोमवार भद्रपुर, मेचीनगर र बिर्तामोडमा अवलोकन गरिएको जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । अवलोकनकर्ताहरुले झापामा मुख्य टार्गेट एमालेलाई बनाइएको जानकारी दिए । पार्टी नेतृत्व र जनप्रतिनिधिहरुमा सबैभन्दा धेरै क्षति एमालेलाई पुगेको हो ।

गत भदौं २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा घुसपैठ गर्नेहरुले एमालेलाई मुख्य टार्गेट बनाएर तोडफोड तथा आगजनी गरेको एमालेको धारणा छ । भ्रष्टाचार विरुद्ध, सुशासनको पक्षमा गरिएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्नेहरुले झापामा दर्जनौं नेता कार्यकर्ताहरको घरमा तोडफोडसहित आगनजी गरेका थिए ।
झापामा सबैभन्दा धेरै घर एमाले नेता कार्यकर्ताहरुको क्षति गरिएको छ भने त्यसपछि नेपाली कांग्रेससहित अन्य दलहरुको घरमा क्षति पुराइएको छ । एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टीमा आगजनी गरिएका छन् भने नगरस्तरीय कार्यालयहरु अधिकांश ध्वस्त बनाइएको बुझिएको छ । सो आन्दोलनका क्रममा एमाले, कांग्रेसका नेताहरु र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई मुख्य टार्गेट बनाइएको पाइएको छ । जिल्लामा राप्रपाका केहि नेताहरुको घरमा समेत क्षति भएको छ ।
झापामा एमालेको जिल्ला पार्टी कार्यालय, नगर कार्यालयहरु, पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी ओलीदेखि वडा तहसम्मका नेता कार्यकर्ताको निजी सम्पत्तिमा क्षति पुराइएको छ ।
जेन जी आन्दोलनमा घुसपैठ गर्नेहरुले एमाले जिल्ला पार्टी कार्यालय जलाएपछि नेताहरुको घरलाई टार्गेट बनाएका थिए । दमकमा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली ,केन्द्रीय सदस्य गोविन्द थापा, प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक वडा नं. १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, दमक ३ नं. वडाध्यक्ष नविन बराल, एमाले केन्द्रीय सदस्य रबिन कोइराला, केन्द्रीय सदस्य एवम् मेचीनगर उपमेयर मिना उप्रेती, पूर्व प्रदेश प्रमुख एवम् केन्द्रीय सल्लाहकार सदस्य बिष्णु प्रसाई, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर वडा नं. १२ का वडाध्यक्ष मधु निरौलाको घरमा तोडफोडसँगै आगजनी गरिएको थियो ।
गौरादहमा एमाले स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री हिक्मत कार्की , केन्द्रीय सदस्य दिपक कार्की, गौरादहका मेयर छत्रपति सुवेदी , उपमेयर जलवर्षा राजवंशी ,गौरादह वडा नं. ३ का वडाध्यक्ष दिलीप भण्डारी, वडा नं. ७ का वडाध्यक्ष बलराम खरेल , कन्काईका मेयर राजेन्द्र पोख्रेल, कन्काई वडा नं. ३ का वडाध्यक्ष युवराज चौलागाई, वडा नं. ७ का वडाध्यक्ष भिष्मभुषण सिटौला, एमाले जिल्ला सचिवालय सदस्य रबिन्द्र लम्साल, मेयर राजेन्द्र पोखरेलका भाइ दिनेश पोखरेल, एमाले बिर्तामोड अध्यक्ष सुवास भट्टराई, पूर्व मेयर ध्रुव शिवाकोटी, कोशी प्रदेश मन्त्री एकराज कार्की, मेयर पवित्रा महतारा प्रसाई, उपमेयर नगेन्द्रप्रसाद संग्रौला, राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय सचिव पर्वतराज भण्डारी, एमाले नेता कालीचरण बस्नेत, एमाले अध्यक्ष ओलीका भाई जयप्रसाद ओली , शिवसताक्षीस्थित संघीय सांसद एल पी साँवा लिम्बू, प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, बुद्धशान्तिमा प्रदेशसभा सदस्य चिन्तन पाठक, बुद्धशान्ति उपाध्यक्ष भवानी खतिवडालगायतको घरमा तोडफोडसँगै आगजनी गरिएको थियो । बिर्तामोडका पार्टी अध्यक्ष सुवास भट्टराईको निजी गाडि समेत मुख्य सडकमा ल्याएर जलाइएको थियो ।
नेपाली कांग्रेसका महामन्त्री मचीनगरस्थित विश्वप्रकाश शर्मा, दमकमा उपमेयर रेगिना प्रसाई, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, जिल्ला उपसभापति केशवराज पाण्डे, गौरादह २ का वडाध्यक्ष गोपाल कोइराला, कन्काईमा कांग्रेसका जिल्ला सभापति देउकुमार थेवे, कन्काई उपमेयर आशा शर्मा शिवाकोटी, जिल्ला सदस्य लिला चिमरिया, भद्रपुरमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला ,भद्रपुर मेयर गणेश पोखरेल, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई , गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीलगायतको घरमा तोडफोड र आगजनी गरिएको थियो ।
राप्रपामा नेता दमकका मेयर राम थापा, भद्रपुर उपमेयर राधा कार्की र प्रदेश सांसद सविना बजगाईको घरमा तोडफोड र आगजनी भएको छ भने दमकमा माओवादीका नेता रेवतराज पुरी गगनको घरमा तोडफोड र आगजनी भएको थियो ।
घुसपैठ गरेर सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गर्नेहरुले चोरी समेत गरेका छन् । विभिन्न दलका नेता कार्यकर्ताहरु, जनप्रतिनिधिहरुको घरमा आगजनी गर्दा घरायसी सामग्रीहरु समेत चोरी भएको जनाइएको छ ।
आन्दोलनपछि आन्दोलनमा सहमभागी जेन जीहरुले घुसपैठ भएका कारण ठुलो क्षति भएको धारणा सार्वजनिक गर्दै आएका छन् । उनीहरुले आफूहरुको आन्दोलनमा घुसपैठ हुँदा अत्याधिक क्षति भएको बताए । उनीहरुले घटनाको छानविन हुनुपर्ने माग राख्दै आएका छन् ।
उता, कनकाई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलको घरमा ८० केजी सुन फेला परेको भन्दै युटुवर भाग्य न्यौपाने लगायतले भिडियो पोष्ट गरेका थिए । मेयर पोखरेलले उक्त सुन कुन निकायमा बुझाइयो वा कसले लगेको छ भन्दै प्रश्न उठाएका छन् । मेयरको घरमा ८० केजी सुन फेला परेको भन्दै अफवाह फैलाएपछि कोशी प्रदेशमा धेरै घटना भएको थियो ।







प्रतिक्रिया