बिर्तामोड । निर्माणाधिन एसियन हाइवेको चारपाने र चारआली क्षेत्रमा ओभरपास निर्माणको काम सुरु भएको छ । ओभरपास निर्माणका लागि चारपाने र चारआली चोकमा डाइभर्सन बनाएर काम थालिएको छ ।
एसियन हाइवेको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) मा तीन वटा ओभरपास बन्ने छन् । झापाको चारआली, बिर्तामोड र चारपानेमा ओभरपास बनाइने छ । आयोजनाका परामर्शदाता ईन्जिनियर मानबहादुर मगरका अनुसार बिर्तामोडको मुक्तिचोक पूर्व २०० मिटर र पश्चिम तर्फ ३९० मिटर ओभरपास हुने छ । यस्तै, चारपानेमा पूर्व २०७ मिटर र पश्चिममा ३०८ मिटरको ओभरपास बन्ने जनाइएको छ । चारआलीमा पूर्व २५१ र पश्चिम तर्फ २२६ मिटर लम्बाईको ओभरपास बन्नेछ ।

अघिल्लो महिना बिर्तामोडमा सार्वजनिक सुनुवाई गर्दै काँकरभिट्टा–लौकही सडक योजना पूर्वी खण्डका बारेमा जानकारी दिइएको थियो । सडक निर्माणका लागि सम्झौता बमोजिम नै काम अघि बढाइएको आयोजना प्रमुख इ. सुनिलबाबु पन्तको भनाई छ । उनका अनुसार सम्झौता बमोजिम नै काम अघि बढाइने छ ।
सार्वजनिक सुनुवाईमा बिर्तामोडको ओभरपासमा वारिपारी गर्नका लागि अण्डरपासको समेत व्यवस्था गरिएको पन्तको भनाई छ । पूर्व तर्फ बुट्टाबारीदेखि घाग्रा खोलासम्म ६ लेनको सडक निर्माण गरिनेछ । बिर्तामोडको मुक्तिचोक क्षेत्र व्यवस्थित र सुन्दर हुने भन्दै व्यवसायीहरुलाई पर्खालका कारण व्यापारमा समस्या नहुनेमा विश्वस्त रहन आग्रह गरिएको छ ।
बिर्तामोडभन्दा पहिले चारपाने र चारआलीको काम सुरु गरिने बताइएको थियो । सो अनुसार दुवै ठाउँमा काम सुरु गरिएको छ । आउने असार महिनासम्म आधार क्षेत्रमा कालोपत्रे सक्ने योजना सुनाउदैं पन्तले भने – पाँच किमिको एक भाग सक्दै अर्को भागमा कालोपत्रे गरिनेछ । आवतजावतमा सजिलो बनाउन पाँच–पाँच किमिमा कालोपत्रे गरिनेछ ।
चारपानेको ओभरपासको काम सुरु गरेपछि बिर्तामोड क्षेत्रमा काम गरिने योजना सार्वजनिक गरिएको थियो । सो अनुसार अब बिर्तामोडमा पनि काम सुरु गरिने जनाइएको छ । ओभरपास क्षेत्रमा पिलर राखिने छैन । । एशियाली विकास बैंकको सहयोगमा रु. १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नतिको काम जारी रहेको छ ।







प्रतिक्रिया