Banner news

इलाका र ट्राफिक कार्यालय बिर्तामोडको सरसफाईसँगै मर्मत थालियो

इलाका र ट्राफिक कार्यालय बिर्तामोडको सरसफाईसँगै मर्मत थालियो


बिर्तामोड । जेन जी आन्दोलनमा तोडफोड र आगजनी गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोड र ट्राफिक प्रहरीको कार्यालय सरसफाई सहित मर्मत कार्य सुरु गरिएको छ ।

शनिवार विहानैबाट २५० जना भन्दा बढि युवाहरुले ध्वस्त भएको कार्यालयको सरसफाई गरेका हुन् । बिर्तामोडसहित स्थानीय युवाहरुको अगुवाईमा सरसफाई सहित निर्माणको काम भइरहेको ढुवानी व्यवसायी पदम श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस क्षेत्रका युवाहरुले स्वस्फूर्त रुपमा सहभागी भई सरसफाईमा जुटेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय आगजनीबाट ध्वस्त भएको थियो । दुवै कार्यालयमा भएका सरसामान आगजनीबाट खरानी भएको छ । सरसफाईमा जुटेका युवाहरुले पहिलो दिन ८० प्रतिशत सरसफाई सकेका छन् । सरसफाई कार्यमा जुटेका श्रेष्ठले २० प्रतिशत सरसफाईको काम आइतवार सम्पन्न गरिने जानकारी दिए ।

जलाईएका गाडि , जलेर खरानी भएका फोहोर हटाउने काम भएको उनको भनाई छ । जलाईका गाडिहरुको व्यवस्थापन गरिएको छ भने निराकार सरसफाई सेवा प्रालिले उठाइएको फोहोर व्यवस्थापन गरेको छ । बिर्तामोड नगरपालिकाले उपलब्ध गराएको ट्याक्टर प्रयोग गरेर फोहोर फाल्ने काम भएको हो ।

युवाहरुले स्थानीय सुरक्षा व्यवस्था मिलाउन छिटोभन्दा छिनो सरसफाई गर्न जरुरी रहेकोले स्वस्फूर्त रुपमा लागेको युवा व्यवसायी निर्मलराज खत्रीले जानकारी दिए । उनले सुरक्षा प्रशासनको व्यवस्था मिलाएर नागरिकको सुरक्षा प्रत्याभूत गर्नुपर्ने धारणा राखेका छन् । पहिलो दिनको सरसफाईको काम उत्साहजनक तरिकाले भएको भन्दै उनले आइतवार पनि बिहानैबाट बाँकी काम सम्पन्न गर्न सक्रिय हुने जानकारी दिए ।

सरसफाईसँगै प्लस्टरको काम पनि भइरहेको छ । सरसफाई, प्लष्टरसँगै विजुलीको काम समेत सुरु भइसकेको बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले जानकारी दिए । उनले सरसफाई र मर्मतको काम सक्ने वित्तिकै सुरक्षाकर्मीलाई बस्न सहज हुने बताए । चाडवाड नजिक आइसकेकाले सुरक्षा व्यवस्थापन मिलाउनु सबैको दायित्व भएको उनको भनाई छ ।

बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले स्थानीय युवाहरुको उत्साहजनक सहभागिताले महत्वपूर्ण निकायको पुनःस्थापना सहज हुने जानकारी दिए । आगजनीपछि प्रहरी विस्थापित हुँदा आम नागरिक त्रसित बन्नुपर्ने अवस्था रहेको उनको भनाई छ । यस क्षेत्रका आम युवाहरुको सक्रिय सहभागिताले छिट्टै सरसफाई सकिने र प्रहरी कार्यालय पुनस्थापना गनिरे वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

सरसफाईको पहिलो दिन बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले आगजनीबाट ध्वस्त भएको प्रहरी कार्यालयहको अवलोकन गर्नुभएको छ ।

सरसफाई अभियानमा वडाध्यक्षहरु, विभिन्न युवा क्लवहरु, यस क्षेत्रका युवा व्यवसायीहरु मिजास पोखरेल, राज लिम्बु, रमेश चौधरी, रोनक बंशल, किरण गुरुङ लगायत सयौं युवाहरु जुटेका छन् ।

शेयर गर्नुहोस :

405
Shares