सम्पादकीय
आन्दोलनअघि र पछिको श्रृङ्खलाहरु स्वभावैले फरक हुन्छ । आन्दोलनअघिको हिम्मत र पछिको स्वीकारोक्ति अलग नै हुन्छन् । जीत र हारले स्वभावहरुलाई बदल्दै जान्छ । विस्तारै परिस्थितिहरु बदलिदैछन् । कुनै पनि आन्दोलनका यि नियमहरु नै हुन् । नेपालमा भएको जेन जी आन्दोलन पनि उस्तै छ । घटनाक्रमहरुलाई पर्गेल्दै जाने हो भने उस्तै श्रृङ्खला देखिन्छन् । घटनाका अनेक पक्षहरुको सन्दर्भमा मुलुकमा बहस रोकिनै छैन । गल्तीहरुबाट कसैले छुट पाउने छैनन् । समर्थन जनाउनेहरुको सन्दर्भहरुलाई पच्छ्याउँदा त्यस्तै देखिएको छ । विस्तारै खुल्दै जानेछन् । रास्वपाको द्वैध चरित्रले नेपाली नागरिकलाई अचम्मित बनाएको छ ।
रास्वपा कुनै पनि राजनीतिक आन्दोलनबाट उदाएको दल होइन । रवि लामिछानेको लोकप्रियतालाई दलमा रुपान्तरण गरेको हो । जेन जी आन्दोलनमा सबैभन्दा सुरुमा समर्थन जनाएर सहभागिता समेत जनाएको पार्टीले अहिले विभिन्न खाले प्रतिक्रिया दिइरहेको छ । आन्दोलनमा समर्थन जनाउने, आन्दोलनका दिन सहभागी हुने र अहिले नैतिक रुपमा जिम्मेवार नहुने चरित्र देखाउनु गैर जिम्मेवारी हो । यो आन्दोलनको उपलब्धीलाई सरोकार पक्षले जसरी जस लिन सक्छन्, त्यसैगरी अवगुणको जिम्मेवारी पनि लिर्नैपर्छ ।
रास्वपाका नेता, कार्यकर्ताहरु कहाँ कसरी सहभागी भए भन्ने कुरा विस्तारै बाहिर आउँदैछ । सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियो, फोटोहरुको सत्यता विस्तारै सार्वजनिक हुने नै छ । आगजनीमा संलग्न भएको तस्वीर सार्वजनिक नै भइसकेको छ । रवि लामिछानेलाई कारागारबाट बाहिर निकाल्न गरिएको सबै प्रकारका प्रयासहरु पनि सार्वजनिक भइसकेका छन् । जसका कारण हजारौं कैदीबन्दीहरु भागे । यसको जिम्मा रास्वपाले नैतिक रुपमा लिनैपर्छ । जान्नेलाई छान्ने पार्टीले मुलुकको परिस्थितिलाई बुझेर संयमता देखाउनुको बदला मौकाको फाइदा उठाउन खोज्नु विवेकहिनता हो । त्यसैले रास्वपाले अब उम्किने प्रयास गर्नु बेक्कार छ । नैतिक रुपमा जिम्मेवारी लिएर दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्नैपर्छ । राजनीतिक प्रतिशोधको नारा लगाएको रास्वपाले अब के गर्छ ? कानुनी राज्यको पालना गर्ने कि नगर्ने भन्ने प्रश्न उब्जिएको छ । यस्तो परिस्थितिमा कसैले पनि राजनीतिक चलखेल गर्नुभन्दा आफ्नो दोषका आधारमा जनतासँग माफी माग्नु उचित हुन्छ ।







प्रतिक्रिया