सम्पादकीय

सरकारमा पात्र मात्रै नबदलियोस्

सरकारमा पात्र मात्रै नबदलियोस्


सम्पादकीय

युवा पुस्ताले सरकारको पात्र बदलेको छ । लामो समय राजनीतिक दलहरुले नेतृत्व गर्दै आएको सरकारमा अहिले गैरराजनीतिक क्षेत्रको प्रतिनिधित्व छ । जनताबाट निर्वाचितलाई हटाएर जेन जी आन्दोलनले गैरराजनीतिक क्षेत्रको प्रतिनिधित्व गराएको छ । संविधानको व्यवस्था विपरित भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले ‘विशेष परिस्थिति’ मध्यनजर गर्दै नयाँ सरकार बनाए । यो सरकारसँग जनताका अपेक्षा धेरै छ । मुलतः निर्वाचन गराउने जिम्मेवारी भएको सरकारसँग जनताले अन्य परिवर्तनको पनि अपेक्षा गरेका छन् । विगतमा सरकारले काम नगरेको होइन । सुशासनको सन्दर्भमा विगतका सरकार चुके । भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको हो ।

राजनीतिक स्थायित्व नभएकाले मुलुकमा लामो समयदेखि निराशा र आवेश थियो । एउटा पुस्ताको धैर्यताको बाँध फुटेपछि अहिले परिवर्तनका केही कामहरु सुरु भएका छन् । अनावश्यक खर्च कटौती यो सरकारको राम्रो काममा लिन सकिन्छ । खर्च कटौतीका नाममा मन्त्रालयभित्रै बस्ने कुरा पाच्य होइन । आगामी दिनमा सबै मन्त्री र कर्मचारी मन्त्रालयभित्रै बस्ने भनेर आएभने त्यो बेला ठिक, बेठिकको बहस हुनेछ । यसैले राज्यको स्रोतवृद्धिलाई प्राथमिकता दिएर आवश्यक र अर्थपूर्ण खर्चलाई स्वीकार गर्न सकिन्छ । जेन जी आन्दोलनलाई नै उडाउने किसिमका निर्णयहरु गर्नु बेठिक हुनेछ ।

सरकारमा नेतृत्व बदलिएपछि प्रवृत्ति र काम गर्ने शैलीहरु बदल्नुपर्छ । सरकारमा पात्र बदलिएर पनि प्रवृत्ति उस्तै भएमा त्यसको खास अर्थ हुदैन । अघिल्लो सरकारले कुलमान घिसिङलाई हटाएर विधुत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई नियुक्ती गरेको थियो । उक्त निर्णयको व्यापक विरोध भयो । अहिले कुलमान घिसिङ आफै उर्जा मन्त्री बनेका छन् । उनले शाक्यलाई पनि प्राधिकिरणबाट हटाइदिए । यो प्रवृत्ति उस्तै छ । अहिले विभिन्न राजनीतिक नियुुक्तीबाट पनि फिर्ता बोलाउने तयारी सुनिएको छ । अर्को नियुक्ती नगर्ने हो भने फिर्ता बोलाउन सकिन्छ, तर यो सरकारले नयाँ नियुक्ती दिन्छ भने अघिल्लो सरकारको प्रवृत्तिसँग मेल खान्छ । यसैले स्थायित्वको एउटा आधार यो पनि हो । नियुक्ती गरिएकाहरुलाई ठिक ढंगले काम लगाउने हो, काम नगरेको खण्डमा फिर्ता गर्ने हो । पहिलेका सरकारले जे गर्थे, यसले पनि त्यही गर्छ भन्ने सन्देश दिनु नयाँ सरकारका लागि ठिक होइन । त्यसैले सरकारको पात्र बदलिएपछि प्रवृत्ति पनि बदल्न जरुरी छ ।

शेयर गर्नुहोस :

135
Shares