सम्पादकीय

चाडपर्वमा थप व्यवसायिक इमान्दारिताको खाँचो

चाडपर्वमा थप व्यवसायिक इमान्दारिताको खाँचो


सम्पादकीय

बडादशैं मनाउन धमाधम किनमेलको काम भइरहेको छ । किराना, लत्ता कपडासहित आवश्यक सामग्री किनमेलका लागि उपभोक्ताको चाप बढ्दो छ । बजारमा देखिएको भीडभाडले किनमेल राम्रै भइरहेको महसुस गर्न सकिन्छ । नेपाली समाजमा अन्य चाडवाड भन्दा दशैं ठूलो उपभोगको समय पनि हो । यस अवसरमा उपभोक्ताले अन्य समयभन्दा बढी किनमेल गर्छन् । आवश्यकताका वस्तुहरूदेखि लिएर विलासी सामानसम्मको खरिदमा उपभोक्ताको धावाधावा चलिरहेको छ । यस्तो बेला कतिपय व्यवसायीले नाफा कमाउने मात्र ठान्नु अत्यन्तै खेदजनक छ ।

चाडपर्वको नाममा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यमा अनावश्यक वृद्धि गर्ने, गुणस्तरमा बेइमानी गर्ने कार्यहरू उपभोक्ताविरुद्धको ठगी मात्र नभई व्यवसायिक अपराध पनि हो । व्यवसायिले पनि सामाजिक जिम्मेवारीलाई कुनै हालतमा बिर्सनु हुदैन । उपभोक्ताले दशैंमा आफ्ना परिवारका लागि खाद्यान्न, कपडा, लत्ताकपडा वा पूजाआजा सामग्री किन्नुपर्ने हुन्छ । यस्तो अवस्थामा व्यवसायीले व्यापार र पैसा मात्र देख्ने प्रवृत्ति छ । यस प्रकारको प्रवृत्ति तत्काल बन्द हुनुपर्छ । उपभोक्ताको अधिकारलाई समेत ख्याल नगर्ने हो भने व्यवसायीका लागि पनि नोक्सान हुन सक्छ । त्यसैले उचित मूल्य, गुणस्तरमा नछली उपभोक्तालाई वस्तु उपलब्ध गराउनु व्यवसायीको नैतिक जिम्मेवारी हो । किनकि उपभोक्ता बिना व्यवसाय सम्भव छैन । हरेक उपभोक्तालाई आफ्नो ग्राहक मात्र होइन, स्थायी साझेदारका रूपमा लिन सक्ने सोच व्यवसायीमा हुनुपर्छ ।

चाडवाड आउनुपूर्व राज्यका सम्बन्धित निकायले बजार अनुगमनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ, त्यसै भनेको होइन । उपभोक्ता अधिकार रक्षाका लागि सरोकार पक्ष सचेत हुनैपर्छ । त्यस्तै, उपभोक्ताले पनि सजग भएर खरिद गर्नुपर्छ । चाडपर्व ठगी र अत्यधिक नाफा कमाउने समय होइन । व्यवसायीहरुका लागि सामाजिक इमान्दारिता प्रदर्शन गर्ने अवसर पनि हो । उपभोक्ताको विश्वास गुमाउने कार्य कुनै पनि व्यवसायीले गर्न हुदैन । किनभने, दीर्घकालीन व्यापारिक सफलताको आधार व्यवसायीको इमान्दारिता र विश्वास नै हो ।

शेयर गर्नुहोस :

54
Shares