सम्पादकीय
दशैं नजिकिँदै गर्दा बजारदेखि गाउँसम्म चहलपहल बढेको छ । दशैं मनाउन घर जाने, आउने क्रम चलिरहेको छ । किनमेलका लागि बजारमा उस्तै चहलपहल छ । दशैं मनाउने तयारी भइरहँदा सबै परिवारमा खुशी छ । दशैंको स्वागतका लागि दशैं मनाउन मिल्ने परिवारहरु त्यसैगरी सक्रियता देखाइरहेका छन् । खुशीसँगै दशैं मनाउने तयारी भइरहँदा नागरिकमा एक प्रकारको त्रास छ । अहिलेको मुख्य चिन्ता भने सुरक्षा नै हो । अहिले सुरक्षाको वातावरणको अभाव छ । जेन जी आन्दोलनपछि केही समय समुदाय स्वयं सशक्त भएर गस्तीमा उत्रिएको थियो । त्यो गस्तीलाई निरन्तरता दिन जरुरी देखिन्छ ।
समुदायबाट भएको गस्तीले तत्कालीन त्रास घटायो । सामूहिक सहकार्यको प्रभाव देखियो । समाज सामान्यतर्फ फर्किएसँगै त्यो सक्रियता कमजोर हुँदै गयो । परिणामस्वरूप फेरि असुरक्षाको महसुस समाजमा बढिरहेको छ । राजनीतिक परिवर्तन र अस्थिरतापछिको अवस्थाले प्रहरी प्रशासन पूर्णरूपमा बाहिर आउन सकिरहेको छैन । सुरक्षाकर्मीहरु आन्तरिक व्यवस्थापन र स्रोत–साधनको कमीले समस्यामा छन् । जनशक्ति अभाव, सवारी तथा प्रविधिगत उपकरणको कमी र मनोबल खस्किएको स्थितिले प्रहरीलाई प्रभावकारी रुपमा काम गर्न कठिन परेको छ । यस्तो संवेदनशील अवधिमा प्रहरीको आत्मबल बढाउने कार्यमा समुदायको साथ चाहिन्छ ।
अहिले समुदायिक समन्वय र सहकार्य अपरिहार्य बनेको छ । स्थानीय तह, टोल विकास संस्था, व्यापारी समूह, महिला तथा युवा संगठनहरूबीच समन्वय गरेर गस्तीलाई निरन्तरता दिनुपर्छ । सुरक्षित समाज निर्माण गर्ने दायित्व राज्यको मात्र होइन, नागरिक स्वयंको कर्तव्य पनि हो । चाडपर्वमा हुने भीड, किनमेल, आवतजावत र खानपानका गतिविधिलाई सुरक्षित बनाउनैपर्छ । यति मात्र होइन, स्थानीय प्रशासन र सुरक्षाअनुभव भएका व्यक्तिसँग समन्वय गरेर सूचना आदानप्रदान प्रणालीलाई समेत विकास गर्न जरुरी छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई पुनः सक्रिय बनाउन सके यसको प्रत्यक्ष लाभ सबैलाई प्राप्त हुनेछ । त्रास घटाउने, अपराध रोक्ने र विश्वास जगाउने जिम्मा फेरि पनि नागरिक एकताले नै स्थापित गर्ने हुँदा समुदायिक समन्वयलाई प्राथमिकतामा राखेर अघि बढौं ।







प्रतिक्रिया