सम्पादकीय

बडादशैंमा थप एकताको संकल्प गरौं

बडादशैंमा थप एकताको संकल्प गरौं


सम्पादकीय
हिन्दूहरूको महान् चाड बडादशैंले घरघरमा उत्सव छ । खुशी र उमंग भित्राएको छ । बडादशैंले टाढिएका मनहरुलाई जोड्ने काम गरिरहेको छ । दशैं धार्मिक उत्सव मात्र नभई, एकताको निम्ति एउटा उवसर पनि हो । टीका, जमरा र आस्थासँगै यो पर्वले सामाजिक सम्बन्ध सुधार्ने, विगतका कटुतालाई पखाल्ने र साझेदारीको संस्कृतिलाई पुनर्जीवित गर्ने सन्देश बोकेको हुन्छ । अहिलेको परिवेशमा समाज र राजनीतिमा विभाजन, वैमनस्य र प्रतिशोधपूर्ण प्रवृत्तिहरू बढिरहेको छ । समुदायदेखि परिवार, दलदेखि नेतासम्मको सम्बन्धमा विश्वास कमजोर हुँदै गएको छ । यस प्रकारको वातावरणलाई सुधार्न दशैंले अत्यावश्यक भूमिका खेल्न सकोस् ।

द्वेष र बदला होइन, क्षमा, सहिष्णुता र भाइचारा समाजको मूल संस्कार बन्नुपर्छ । देवीको विजय केवल दानव, राक्षसमाथि होइन, अहंकार, कटुता र प्रतिशोधमाथि पनि हो भन्ने चिन्तन आवश्यक छ । देश अहिले पनि अशान्ति, अविश्वास र अनिश्चितताबाट मुक्त हुन सकेको छैन । बारम्बारको आन्दोलन, राजनीतिक टकराव र सामाजिक असन्तुलनले नागरिकमा आक्रोश र निराशा बढाएको छ । यस्तो बेलामा बडादशैंले राष्ट्रिय शान्ति र सहअस्तित्वको बाटो समाउने प्रेरणा दिनुपर्छ । संविधानमाथि गरिएका चुनौतीपूर्ण प्रहारहरूले लोकतान्त्रिक संरचनालाई नै कमजोर पार्ने काम भइरहेको छ । संविधान सबै नेपालीहरूको साझा आधार र सहमतिको जग हो । त्यसलाई कमजोर बनाउने प्रयास असफल बन्नुपर्छ ।

यो दशैंले संवैधानिक मूल्यप्रतिको आस्था बलियो बनाओस्, कानुनी शासन र उत्तरदायित्वप्रतिको प्रतिबद्धता उजागर गराउन सकोस् । समृद्ध राष्ट्र निर्माणको लक्ष्य आज पनि मुख्य राष्ट्रिय एजेन्डा हो । राजनीतिक अस्थिरताभन्दा माथि उठेर विकास, रोजगारी, सामाजिक न्याय र पूर्वाधार निर्माणमा अग्रसर बन्नु अहिलेको आवश्यकता हो । यसैले, बडा दशैंले वैमनस्यको अन्त्य, सहमति, सहकार्यको जग, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको अभियानलाई निरन्तरता दिन सकोस् । चाडले घाउ होइन, मल्हम बनोस् । कठिनाइ होइन, आशा जगाओस् । बडादशैंको शुभकामना ।

शेयर गर्नुहोस :

54
Shares