बिर्तामोड । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङगले बिर्तामोडस्थित इलाका प्रहरी र ट्राफिक प्रहरीको कार्यालय अवलोकन गरेका छन् । आज विहान दुवै कार्यालयको अवलोकन गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा घुसपैठ गरेको अराजक समूहले इलाका र ट्राफिक कार्यालय आगजनी गरेको थियो । समुदायस्तरबाट निर्मित कार्यालयहरुको अवलोकन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले यहाँका सचेत नागरिकको योगदानप्रति धन्यवाद दिए । उनले कार्यालयको पुननिर्माणले यहाँ सचेत नागरिकहरुको पनि बसोबास छ भन्ने सन्देश दिएको बताए । 
प्रहरी महानिरीक्षक खापुङ्गले कार्यालय निर्माणमा सहयोग गरेको समाजले प्रहरीको आवश्यकता महसुस गरेरै काम गरेको जनाए । उनले भने, प्रहरीसँग समाजको ठुलो अपेक्षा छ । समाजप्रतिको दायित्व हामीले पुरा गर्नैपर्छ ।
अवलोकनका क्रममा खापुङ्गले मातहतका प्रहरीलाई उच्च मनोवल बनाएर काम गर्न निर्देशन दिए । प्रहरीमाथि भएको आक्रमण अपराधीहरुले गरेको भन्दै उनले अपराध कर्ममा लाग्नेहरु ढिलोछिटो कानुनी दायरामा आउने स्पष्ट पारे । उनले जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भएको आक्रमण अपराधीहरुबाट भएको टिप्पणी गरे । विभिन्न अपराध कर्ममा प्रहरीबाट कारबाहीमा परेकाहरु घुसपैठ गरेर प्रहरीमाथि जाइलागेको उनको भनाई थियो । प्रहरी कर्मचारीहरुलाई शान्ति सुरक्षाका लागि प्रतिवद्ध भएर काम गर्न निर्देशन दिएका छन् । अवलोकन र निर्देशनपछि प्रहरीहरुले उच्च नेतृत्वबाट मनोवल बढाउने काम भएको प्रतिक्रिया दिएका छन् ।
सो क्रममा कार्यालय निर्माणमा अगुवाई गर्ने पदम श्रेष्ठले समुदायस्तरबाट भएको काम कारबाहीहरुको बारेमा जानकारी गराएका छन् ।
बिर्तामोडको अवलोकनपछि इप्रका दमकको अवलोकन गर्न गएका छन् ।







प्रतिक्रिया