सम्पादकीय
बडादशैंको विदापछि नेपालीहरुको घरआगनमा तिहार नजिकिदैछ । उज्यालो पर्वको रुपमा रहेको तिहार नजिकिदै गर्दा त्यसको तयारी सुरु गरिएको छ । दशैं अगाडि भएको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमहरुले तिहारमा जोखिम हुने संभावना छ । भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनमा लुटिएका हतियार तिहारमा बाहिर आउन सक्ने संभावना छ । यसले सुरक्षामाथि प्रश्न उठाएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण गरी प्रयोगमा रहेका केही हतियार लुटिएको तथ्य यसअघि नै सार्वजनिक भइसकेको विषय हो ।
लुटिएका हतियार यतिवेला राज्यका संयन्त्रका लागि चुनौतीपूर्ण बनेको छ । यिनै हतियार तिहारको संवेदनशील अवसरमा पुनः प्रयोगमा आउन सक्ने आशंका गर्न सकिन्छ । चाडपर्वको चहलपहल, भिडभाड, घर–घरमा हुने आवतजावतको अवस्थामा हतियारको दुरुपयोगबाट उत्पन्न हुनसक्ने जोखिमलाई बेवास्ता गर्न हुदैन । बेवास्ता गर्नु गम्भीर त्रुटि हुनेछ । तिहारमा सामान्यतया प्रहरीहरु चोक–चौकमा खटाइन्छ । विगतका वर्षहरूमाजस्तै अहिले पनि स्रोत, जनशक्ति र तयारीको अभाव देखिन्छ ।
आन्दोलनपछि समुदायमा जन्मिएको त्रास र अविश्वास अझै मेटिएको छैन । यसबीचमा अवैध रूपमा खोसिएका हतियार सुरक्षा संवेदनशीलताको संकेत हुन् । अपराधी समूह वा असन्तुष्ट पक्षले तिहारका अवसरलाई लक्षित गर्दै ती हतियार प्रयोग गर्ने सम्भावनालाई समयमै निस्तेज गर्न सक्नुपर्छ । यस्तो अवस्थामा स्थानीय प्रशासन, प्रहरी नेतृत्व र सुरक्षा संयन्त्रहरूले पूर्वसावधानीका उपाय तत्काल अपनाउन जरुरी छ । पहिलो, लुटिएका हतियार फिर्ता गराउने अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ । दोस्रो, ती हतियार प्रयोग हुनसक्ने उच्च जोखिम क्षेत्र, असुरक्षित बसोबास र सीमावर्ती ठाउँमा कडा निगरानी तथा गस्ती व्यवस्था बलियो पारिनुपर्छ । तेस्रो, समुदाय–प्रहरी सहकार्यलाई गरी हतियार खोजीमा सक्रियता देखाउनुपर्छ । यसबीचमा घटना भइहाल्यो भने त्यसको असरले ठुलो रुप लिन सक्छ । यसैले जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय सुरक्षा निकायबीच सहकार्य गरी सुरक्षा व्यवस्था व्यवस्थित गरिनुपर्छ ।







प्रतिक्रिया