दमक । गाउँ घरको शान्ति सुरक्षा र चोरी जस्ता अपराधीक गतिविधि रोक्ने उद्धेश्यले उर्जाशील युवा समुहको पहलमा सीसी क्यामेरा जडान गरिएको छ ।
दमक ८ को सरस्वती टोलमा सीसी क्यामेरा जडान गरिएको हो । असोज २५ गते दमक ८ को सरस्वती टोलको दक्षिणी सिमाना गजेन्द्र निरौलाको घरदेखि उत्तरमा राजन लुइटेलको घर अगाडीसम्म सडकमा ५ वटा सीसी क्यामेरा जडान गरिएको हो । सम्भवत दमक ८ का टोलहरुमध्ये टोलवासीहरुकै सहयोगमा सीसी क्यामेरा जडान गर्ने पहिलो टोल सरस्वती टोल भएको छ । दमक ८ भित्र कुल ३४ वटा टोल विकास संस्थाहरु रहेका छन् ।

गाउँ टोलको सुरक्षाको लागि टोलवासीहरु मिलेर प्रत्येक घरधुरीबाट रकम जम्मा गरी सीसी क्यामेरा जडान गरिएको उर्जाशील युवा समुह दमक ८ का अध्यक्ष पर्शुराम लिङ्गदेनले बताउनुभयो ।
टोलको सुरक्षा र विकास बाहिरबाट आएर कसैले नगर्ने हँुदा आफै लागिपरेको अध्यक्ष लिङ्गदेनको भनाई छ । आफू घर बाहिर हुँदा पनि जुन सुकै समयमा मोवाइलबाटै रेखदेख गर्न सकिने युवा समुहका कोषाध्यक्ष राजु कटुवालले जानकारी दिनुभयो । यस टोलको चौकीदारी सीसी क्यामेराले गर्ने कटुवालको बुझाई छ । सीसी क्यामेरा जडानपछि २७ घरधुरी लाभान्वित हुने उर्जाशील युवा समुह दमक ८ ले जनाएको छ ।
डिजीटल प्रविधिको युगमा वडा, टोलको शान्ति सुरक्षा कायम गर्न सीसी क्यामेरा अति आवश्यक सामग्री भएको दमक ८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश) ले बताउनु भयो । दमक ८ नं. वडा कार्यालयले गएको वर्ष पनि जमघट धेरै हुने ८ ठाउँमा सीसी क्यामेरा राखेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
वडा र टोलभित्रको शान्ति सुरक्षा कायम गर्नका लागि वडा कार्यालयलाई उर्जाशील समुह जस्ता संघ संस्थाले सहयोग र सहकार्य गर्नु प्रसंशनीय कार्य भएको वडाअध्यक्ष दाहालको धारणा रहेको छ । यस्ता सामाजिक कार्यमा सरोकारवाला संस्था, व्यक्ति सबैले सहयोग र सहकार्य गर्न उहाँले अपिल गर्नुभएको छ ।







प्रतिक्रिया