बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले तिहारमा राती ९ बजेसम्म मात्र देउसी, भैलो लगायतका साँस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्न अनुमति दिएको छ ।
शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा जिल्लाबासी तथा देश विदेशमा रहनु भएका नेपालीहरुमा शुभकामना दिंदै यस्तो अनुरोध गरिएको हो । चाडपर्वहरु मनाउने सन्दर्भमा समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सहयोग जिल्ला सुरक्षा समितिले अनुरोध गरेको जनाइएको छ ।
प्रशासनले एक सूचना जारी गर्दै प्रचलित कानूनले वर्जित गरेका जुवातास, डाइस लगायतका जुवाजन्य खेल खेल्ने÷खेलाउने कार्य नगर्न भनेको छ । यस्तै, समाजमा आतंक श्रृजना गर्ने गरी पटका पड्काउने, भुईंचम्पा, आतिशबाजी गर्ने कार्य नगर्न, प्लाष्टिकका फूल, मालाको सट्टा प्राकृतिक फूल, माला प्रयोग गरी नेपाली किसानहरुलाई प्रोत्साहित गर्न आग्रह गरिएको छ ।
बजारमा अखाद्य बस्तु, म्याद गुज्रेका बस्तु विक्री बितरण नगर्न साथै मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना नगर्नु नगराउनु प्रशासनले अनुरोध गरेको हो । सवारी साधनहरुमा क्षमताभन्दा बढि यात्रु नराख्न, सडकको अवस्था बुझेर मात्रै यात्रा गर्नु÷गराउनु हुन अनुरोध गरिएको छ ।
सामाजिक सञ्जालको प्रयोग गर्दा अर्काको मर्यादाको सम्मान गर्न तथा घृणा र अफवाह फैलाउने किसिमका सामग्री सम्प्रेषण नगर्न भनिएको छ । चाडपर्वका समयमा कहिँकतै कोहि कसैलाई कुनै समस्या परेमा वा टोल छिमेकमा अवाञ्छित क्रियाकलाप हुन लागेको वा भईरहेको जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी इकाईंमा खबर गर्न, प्रहरी कन्ट्रोल रुम १०० मा वा मोबाइल नं. ९८५२६७१५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।







प्रतिक्रिया