सम्पादकीय
दशैंपछिको ठुलो चाडका रुपमा रहेको तिहार नजिक आइसकेको छ । बडादशैंपछि अर्को महत्वपूर्ण चाडका रुपमा रहेको तिहार सांस्कृतिक विविधतामध्ये महत्वपूर्ण पर्व हो । देउसी–भैलो, भाइटीका, परिवारको भेटघाट र आपसी सद्भाव यसको मूल विशेषता हो । चाडवाडलाई सद्भावपूर्ण र शान्तिपूर्ण बनाउनका लागि सबैले योगदान गर्नुपर्छ । मर्यादित रुपमा चाडवाड मनाउनका लागि कुनै किसिमको भड्किलो गतिविधिलाई नियमन गर्दै जानुपर्छ । अहिले जेनजी आन्दोलनपछि सुरक्षा निकायको उपस्थिति प्रभावकारी हुन सकेको छैन । सुरक्षा निकायसँग साधनको समस्या छ ।
यो वर्षको चाडवाड अघि जेनजी पुस्ताले देशभर आन्दोलन गरे । जायज माग राखेर गरिएको आन्दोलन भए पनि त्यसलाई मौका बनाउने काम भइरहेको छ । अर्थात, गलत फाइदा उठाउने प्रयास भइरहेको छ । कतिपय गलत गतिविधि गर्नेहरु पक्राउ नै परिसके । तिहार नजिक मात्रै आउँदै छ, तर जिल्लाभर डाइस खेलाउनेहरुको संख्या ठुलो छ । बिर्तामोडको भद्रपुर रोडसहित बजारका कुनाकाप्चा, चोक क्षेत्रमा खुलेयाम डाइस खेलाउने काम भइरहेको छ । यो मौकाको फाइदा उठाउने कामलाई सामाजिक रुपमा निरुत्साहित गर्नुपर्छ । चोकमा डाइस खेलाउँदा पनि प्रहरी पुग्न सकेको छैन, वरपरका अगुवाहरु पनि हेर्न मात्रै बाध्य छन् । यो परिस्थितिको अन्त्य गरिनुपर्छ ।
जुवा खेलाएर कमाउने लोभले अनेकौं घर–परिवारमा आर्थिक क्षति पुग्छ । आपराधिक घटनासमेत निम्तिने गर्छ । त्यसैले तिहारलाई सांस्कृतिक चाडका रूपमा सीमित राख्दै डाइसजस्ता विकृति नियन्त्रण गर्नैपर्छ । जुवाजन्य खेल साधारण रमाइलोको रूपमा सुरु भए पनि त्यसले दीर्घकालिन असर गर्ने निश्चित छ । झैझगडा, चोरी, हिंसा र सामाजिक असमझदारीका घटना यस्तै ठाउँबाट यतिबेला सुरु हुने गर्छ । जुवाले सुरक्षामाथि नै असर गर्ने हुँदा समुदायबाट पनि प्रतिकार गरिनुपर्छ । ‘चाडबाडको रौनक’ को नाममा जुवाजन्य गतिविधिलाई नजरअन्दाज गर्नु हुदैन । बेलैमा सचेत भएर शान्ति सुरक्षाका लागि सहयोग पुराऔं । त्यसका लागि युवाहरुले समेत प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।







प्रतिक्रिया