बिर्तामोड । ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले झापा ट्राफिकको अवलोकन तथा निरीक्षण गरेका छन् । भदौं २३ र २४ गते भएको आन्दोलनपछि पुर्ननिर्माण गरिएको कार्यालय निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका छन् ।

अवलोकनका क्रममा झापा आएका प्रहरी उपरीक्षक गिरीले ट्राफिक व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । ‘हामी उच्च मनोवलका साथ काममा लागेका छौं, समुदायको सहयोगबाट थप प्रभावकारी सेवा प्रदान गर्ने सोच छ’, प्रहरी उपरीक्षक गिरीले भने । उनले आन्दोलनपछि सडकमा ट्राफिक प्रहरी केही दिन नदेखिए पनि अहिले पूर्ण रुपमा ट्राफिक प्रहरी खटिएको जानकारी दिए ।
सवारी चेकजाँचसहित कार्यालयको जिम्मेवारीभित्र रहेका काममा क्रियाशिल भइसकेको जनाउँदै उनले झापाका ट्राफिक प्रहरीलाई ‘ट्राफिक हिंसा’ गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । उनले बुलेट पड्काउने, मोडिफाई गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्ने, मापसे गर्नेलाई कारबाही गर्न कसैको निर्देशन नपर्खन सूझाव दिए ।
समुदायसँगको सहकार्यमा काम गछौं : सन्तोष राई
झापा ट्राफिकको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक सन्तोष राईले समुदायसँगको सहकार्यमा जिल्लाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् । उनले कारबाहीमा कुनै सम्झौता नगर्ने जनाए ।

पछिल्लो समय सडकमा धेरै लापबाही भइरहेको गुनासो आइरहेको बताउँदै राईले ट्राफिक प्रहरी नियमित काममा फर्किसकेको जानकारी दिए । बिर्तामोड क्षेत्रमा बुलेटको आवाजले ध्वनी प्रदुषण बढाएको, अटो अव्यवस्थित भइरहेको, भारतीय चालकका कारण सुरक्षा जोखिम भएको गुनासो आउने गरेको कार्यालय प्रमुख राईले बताएका छन् । पड्काएर बुलेट कुदाउनेहरुलाई कारबाहीको दायरामा तत्कालै ल्याउने उनको भनाई छ ।







प्रतिक्रिया