मुख्य समाचार

नेकपा एसलाई माओवादीमा मिसाउनुअघिको आश्रयस्थल मात्रै बनाइएको पुष्टि

नेकपा एसलाई माओवादीमा मिसाउनुअघिको आश्रयस्थल मात्रै बनाइएको पुष्टि


विराटनगर, कात्तिक १५ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (समाजवादी) पार्टीभित्र भइरहेको हालको बहस र निर्णयहरू ‘केवल एमालेलाई कमजोर पार्ने राजनीतिक प्रयत्न’ भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले समाजवादी पार्टीको हालको दिशा र उद्देश्य मूलतः ‘आक्रोश र अवसरवाद’ मा आधारित भएको बताउँदै सो पार्टीमा रहेका सबै नेता कार्यकर्तालाई पुनः नेकपा (एमाले) मा फर्किन आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा भन्नुभएको छ, ‘नेकपा (एमाले) विभाजनको पुष्टि न २०५४ सालले गर्न सक्यो, न २०७८ सालको विभाजनले, यी दुवै विभाजन केवल केही नेताहरूको पद, प्रतिष्ठा र अवसरका निम्ति प्रयोग मात्र भए ।’

उहाँका अनुसार, यी घटनाहरूले विचार र सिद्धान्त होइन, व्यक्तिगत स्वार्थकै कारण वाम आन्दोलन कमजोर हुने अवस्था सिर्जना गरे ।

उहाँले हाल नेकपा एकीकृत समाजवादी पार्टीभित्र चलिरहेको विवाद र निर्णय प्रक्रियालाई पनि सोही मानसिकताको निरन्तरता भन्दै ती बहसहरूले वाम आन्दोलनलाई न त सुदृढ बनाउने, न त वैचारिक स्पष्टता दिने, बरु एमालेलाई कमजोर पार्ने मात्रै उद्देश्य राखेको बताउनुभएको छ। उहाँले लेख्नुभएको छ, ‘अहिले नेकपा (समाजवादी) पार्टीमा जे बहस र निर्णय हुँदै छ, त्यसबाट विभाजनको उद्देश्य केवल नेकपा (एमाले) लाई कमजोर पार्ने र आफू मूल नेतृत्वमा नभएको पीडा र आक्रोश व्यक्त गर्ने मात्रै देखिन्छ, त्यसभन्दा बढी त नेकपा (समाजवादी) लाई माओवादीमा सम्मिलित गराउनु अघिको आश्रय स्थल मात्र हो भन्ने पुष्टि भएको छ ।’

मुख्यमन्त्री कार्कीले एकीकृत समाजवादी पार्टीमा रहेका नेताहरूलाई ‘अस्थायी बाटो छोडेर स्थायी घर फर्कन’ आग्रह गर्नुभएका छ । उहाँले लेख्नु भएको छ, ‘त्यस पार्टीमा रहनुभएका आदरणीय सम्पूर्ण नेता तथा कार्यकर्ता साथीहरू आउनुहोस्, हामी फेरि एक पटक आफ्नो घर, अर्थात् नेकपा (एमाले) मै समाहित होऊँ, हामीले दुःख, कष्ट र समर्पणका साथ बनाएको आफ्नो प्यारो पार्टीलाई अझ सशक्त बनाऔँ ।’

कार्कीले हाल नेकपा (एमाले) देशको जटिल राजनीतिक परिस्थितिको सटिक विश्लेषण गर्दै नीति, विधि र नेतृत्व संरचनालाई नयाँ ढङ्गले परिमार्जन गर्न लागिपरेको उल्लेख गर्नु भएको छ। उहाँका अनुसार, आगामी ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको वैचारिक, संगठनात्मक र नीतिगत रूपान्तरणको ऐतिहासिक अवसर बन्नेछ ।

‘नेकपा (एमाले) अहिले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ,’ उहाँले लेख्नुभएको छ, ‘यो अवसरलाई सदुपयोग गर्दै महाधिवेशनलाई उत्सवमा परिणत गरौँ र नेकपा (एमाले) लाई नेपालकै निर्णायक राष्ट्रिय शक्तिको रूपमा रूपान्तरण गरौँ ।’ उहाँको भनाइमा पार्टीभित्रको आत्मसमिक्षा, वैचारिक स्थिरता र राष्ट्रिय जिम्मेवारी नै एमालेको भावी यात्राको मूल ध्येय हो ।

शेयर गर्नुहोस :

27
Shares