Banner news

ऋणीको घरघर जाने शिखर सहकारीको निर्णय, ऋणीको विवरण दिने

ऋणीको घरघर जाने शिखर सहकारीको निर्णय, ऋणीको विवरण दिने


बिर्तामोड । समस्याग्रस्त बिर्तामोडको शिखर बचत ऋण सहकारी संस्था लि. ले १५ दिनभित्र ऋण संकलनमा प्रगति गर्ने योजना अघि सारेको छ । आज कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले ऋण संकलनका लागि दुई साता ऋणीको घरघर जाने निर्णय गरेको हो ।

संस्थाका सचिव एवम् ठुला ऋणी हिमाल प्रसाईले आफ्नो समस्या देखाएर बचतकर्तासँग समाधानको बाटो खोज्न राखेको छलफलपछि सञ्चालक समितिको समेत बैठक आयोजना गरिएको हो । प्रसाईले संस्थाको व्यानर प्रयोग गरेकोमा स्पष्टीकरण मागिएको छ भने धितो वापत राखेको सम्पत्तिको यथार्थ विवरण ३ दिनभित्र पेश भनिएको अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । उहाँले ऋणका लागि राखेको सम्पत्ति के कसो भएको हो बुझ्नका लागि तीन दिनको समय दिएका हौं, राउतले भने – प्रसाईसँग धितो सम्पत्ति विक्री गर्न सक्ने वा नसक्ने भनि समय दिएका छौं । त्यो समय ३ दिन मात्रै हो ।
बैठकले आइतबारबाटै ठुला ऋणीको घरघर जाने निर्णय गरेको छ । ११ सदस्यीय सञ्चालक समितिमध्ये ७ जना उपस्थित भई निर्णय गरेको बताइएको छ । संस्थाका ठुला ३-४ जना ऋणीले ऋण चुक्ता गर्दा बचतकर्ताको रकम फिर्ता गर्न सकिने बताइएको छ ।

यस्तै, बैठकले ऋणीहरुको धितो पञ्जिकृत मुल्यमा खरिद गर्ने निर्णय गरेको छ । ऋणीले राखेको जमिनको मुल्य आफू खुशी राख्न नपाइने, पञ्जिकृत मुल्याङकनका आधारमा हिसाव मिलान गर्ने अध्यक्ष राउतको भनाई छ ।
संस्थाका सचिव एवम् ऋणी प्रसाईले राखेको छलफलमा बचतकर्ताहरुले ऋणीहरुको विवरण सार्वजनिक गर्न माग गरेका थिए । सो विषयमा समेत बैठकले निर्णय गर्दै बचतकर्ताले लिखित निवेदन दिएमा ऋणीहरुको विवरण संस्थाले उपलब्ध गराउने जनाइएको छ ।

शेयर गर्नुहोस :

2.4k
Shares