बिर्तामोड

चाहाना समूह दुर्व्यसनविरुद्धको अभियानमा

चाहाना समूह दुर्व्यसनविरुद्धको अभियानमा


बिर्तामोड । चाहाना समूह बिर्तामोडले आफ्नो लक्ष्यअनुसारको सामाजिक अभियान सुरुवात गरेको छ । शनिवार बिर्तामोड वडा नम्बर ३ का एक जना दुर्व्यसनीलाई सुधार केन्द्रमा राखेर समूहले अभियान प्रारम्भ गरेको हो ।

वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको उपस्थितिमा सो दुर्व्यसनका लागेका व्यक्तिलाई वडा नम्बर १ मा रहेको शान्ति समूह नेपाल नामक सुधार केन्द्रमा राखिएको हो ।

समूहले लागुऔषध तथा दुर्व्यसनमा फसेका तर आर्थिक अभावका कारण सुधार केन्द्रमा जान नसक्ने व्यक्तिहरूलाई निःशुल्क सहयोग गर्ने उद्देश्यका साथ गत कात्तिक ११ गते बिर्तामोडमा ‘इको म्युजिक फेस्ट’ नामक कन्सर्ट आयोजना गरेको थियो ।

सुरज शेर्पाका अनुसार पहिलो चरणमा बिर्तामोडका १० वटै वडाबाट कम्तीमा १० जना दुव्र्यसनीलाई सुधार केन्द्रमा राख्ने योजना रहेको छ । सुधार केन्द्रमा राखिएका व्यक्तिहरूलाई तीन महिनासम्म उपचार तथा पुनःस्थापना कार्यक्रम संचालन गरिनेछ । वडाध्यक्ष मदन बुढाथोकीले पछिल्लो समयमा धेरै युवाहरू लागुऔषधको दुर्व्यसनमा फसिरहेका बताउनुभयो ।

उहाँका अनुसार यस समस्याको समाधानका लागि केवल जनप्रतिनिधि र प्रहरी प्रशासनको प्रयास मात्र पर्याप्त छैन, समुदायको सक्रिय सहकार्य आवश्यक छ । उहाँले चाहाना समूहले सुरु गरेको अभियान सामाजिक रूपान्तरणतर्फको प्रशंसनीय कदम भएको उल्लेख गर्दै लागुऔषध नियन्त्रणका लागि समुदाय स्वयं सचेत र जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

यस्तै, शान्ति समूह नेपालका सञ्चालक महेन्द्र बस्नेतले आफूले २०७० सालदेखि सुधार केन्द्र सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार सो केन्द्रले आर्थिक रूपमा विपन्न र उपचार खर्च बेहोर्न नसक्ने व्यक्तिहरूलाई सहज रूपमा सहयोग गर्दै आएको छ ।

समूहले पहिलो चरणमा १० जनालाई सुधार केन्द्रमा राखेपछि उक्त कन्सर्टको आय–व्यय सार्वजनिक गर्ने जनाएको छ । चाहाना समूहले यसअघि निःशुल्क आँखा शिविर लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

शेयर गर्नुहोस :

27
Shares