एक भारतीय नागरिक फरार
प्रदीप परियार
बिर्तामोड । झापाका शिवसताक्षी – १० का सरोज शर्माको हत्यामा संलग्न दुई जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
प्रहरीले शर्माकै छिमेकी २७ वर्षीय सुनिल शाह र २३ वर्षीय मामा राहुल शाहलाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न एक जना भारतीय नागरिक फरार रहेको प्रहरी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । भारतीय नागरिकको पहिचान भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गर्दै शर्माको हत्या बारे जानकारी दिएको हो । कात्तिक ९ गते देखि परिवारको सम्पर्कमा नरहेका शर्माको सोही दिन साँझ ५ः३० बजे अर्जुनधारा नगरपालिका वडा नं. ४ दहिझोडा सामुदायिक वनभित्र हत्या गरिएको प्रवक्ता खड्काले जानकारी दिए । हत्यापछि झापा गाउँपालिका वडा नं. ५ स्थित हुलाकी सडक खण्ड अन्तर्गत विरिङ खोलाको पुलमुनी शर्माको शव गाढिएको थियो । उनको शव शनिवार राती फेला परेको हो ।
कात्तिक १३ गते शर्माले प्रयोग गर्दै आएको किया सेल्टस बा. ०१–३०. ७१९४ नम्बरको कार मेचीनगर – १३ निचाझोडा सिमसार जंगलभित्र जलिरहेको अवस्थामा फेला परेको थियो । कार आगलागी भएको ठाउँमा प्रहरीले शर्माको चम्पल भेटेपछि अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको थियो । प्रवक्ता खड्काका अनुसार सुनिल शर्मालाई मोरङको रानी क्षेत्रबाट र राहुल शाहलाई घरैबाट पक्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धानमा सरोज शर्माको हत्या सुनको लोभ देखाएर गरिएको खुलेको छ । शर्माले सस्तो सुन भेटे खरिद गर्ने र काठमाडौंमा साथीहरुलाई पनि किनाई दिने भनेपछि सुनिल शाहले १ महिनादेखि पैसा लुट्ने योजना बनाएको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता खड्का बताउँछन् । हत्यामा संलग्नहरुले पैसा लुट्ने र सरोजलाई अपरहण गरी भारत लगेर परिवारसँग करोडौं रुपैयाँ असुल्ने योजना बनाएका थिए ।
घटना विवरण अनुसार सरोज शर्मालाई सुन ल्याई गाडेर राखेको भन्दै हेर्नलाई दहिझोडा साुमदायिक वनमा बोलाएर सुनिल र नातामा मामा पर्ने राहुलले हम्मरले हानेर सोही ठाउँमा मारेका थिए । हत्यापछि भारतीय नागरिकको सहयोगमा शर्माकै गाडिमा उनको शव राखेर विरिङ पुलमुनी पुराएको खुलेको छ ।
प्रहरीले उनीहरु विरुद्ध अपहरण, शरिर बन्धक, अपराधिक प्रवेश तथा अपराधिक उपद्रव तथा ज्यान सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रदेश प्रहरी कार्यालउ कोशी प्रदेश, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलले संयुक्त रुपमा अपरेशन चलाएको थियो ।







प्रतिक्रिया