Banner news

बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने

बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो ।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले अबको एक हप्तामा सबै शाखाको व्यवस्थापन र एक महिनाभित्र सम्पूर्ण सेवा प्रदान गर्ने तयारी गरिएको जानकारी दिए । बिर्तामोड नगरपालिकामा जेनजी आन्दोलनले १२ करोडको क्षति पुगेको मिश्रले जानकारी दिएका हुन् । उनले सामान्य मर्मत गरेर केही सेवाहरु दिन थालिएको जानकारी दिएका छन् ।

उनका अनुसार नगरपालिको एउटा भवन र ८ वटा वडा कार्यालयहरुमा आगजनी तथा तोडफोड भएको थियो । ३ नं. वडा कार्यालयले नगरपालिकाको पुरानो भवनभित्रैबाट सेवा दिइरहेको छ । नगरपालिकामा भएको क्षतिपछि प्रारम्भिक किसिमका सेवाहरु दिइरहेको उनको भनाई छ । जन्म, मृत्यू दर्ता, बसाईसराई, वैदेशिक रोजगार सम्बन्धी साधारण सिफारिसहरु दिने काम मात्र भइरहेको मिश्रले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रका अनुसार नयाँ प्रशासनिक भवनको पार्किङको भागमा पुर्ननिर्माण गरेर सम्पूर्ण सेवाहरु दिने तयारी गरिएको छ । आन्दोलनपछि नगरवासीलाई सेवा लिनका लागि धेरै कठिनाई भइरहेको बताउँदै उनले केही समयमै समाधान गरेर जाने बताए । छिटो छरितो सेवा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।
नगरपालिकाले व्यवसाय दर्ता, नविकरण, राजश्व व्यवस्थापन, घर नक्सा लगायतका कामहरु अघि बढाउन सकिरहेको छैन । अपांगता भएका व्यक्तिहरुलाई पनि सेवा लिन समस्या भइरहेकोले एक महिनाभित्र पुरानै लयमा सेवा दिने तयारी गरिएको जानकारी दिए ।

यता, पुरानो प्रशासनिक भवनकोे पिलर, विम र छत फेल भएको ई. डिल्लीराम ओलीले जानकारी दिए । उनका अनुसार आगलागीबाट पिलर, विम र छत फेल भएको प्रारम्भिक प्रतिवेदन आएको छ । लिखित रुपमा एक सातामा प्रतिवेदन प्राप्त हुनेछ । अब आउने प्रतिवेदनका आधारमा विशेषज्ञ बोलाएर कसरी निर्माण गर्ने भन्ने बारे सूझाव लिइने ओलीले जानकारी दिए । मर्मत गर्ने हो वा भत्काएरै बनाउनुपर्ने हो, अन्तिम प्रतिवेदनका आधारमा विशेषज्ञले भन्नुहुनेछ ।

शेयर गर्नुहोस :

189
Shares