सम्पादकीय
नेपालमा जेनजी आन्दोलन पछि दलहरुमाथि आक्रोस बढेर गएको छ । दलहरुप्रति व्याप्त आक्रोस फेरि दलहरुमै रुमान्तरित भइरहेको छ । जेनजी आन्दोलनले दलीय सरकारलाई अपदस्त गरेपछि निर्दलीय सरकार बनेको छ । एउटा परिस्थितिबाट सरकार बनेको हो । त्यसलाई दलहरुले असंवैधानिक भनिरहेका छन् । सरकारले दलहरुको विकल्प नरहेको र दलहरुलाई निर्वाचनमा सहभागी हुन आव्हान गरिरहेको अवस्था छ । दलीय व्यवस्थामा जनताको आक्रोस हुने पनि दलहरुसँगै हो । यसलाई स्वभाविक मान्नैपर्छ । जनअपेक्षा अनुसार दलहरुले काम गर्न नसकेको आम जनताको बुझाई छ । दलहरु पनि जनतालाई धेरै सपना बाँढ्ने, पुरा गर्न नसक्ने परिस्थितिबाट गुज्रिएका छन् ।
राजनीतिक दलमाथि अहिले अत्याधिक प्रहार भइरहेको छ । एउटा सकारात्मक कुरा के छ भने, संगठित रुपमा प्रहार गर्नेहरु पनि दल दर्ता गरेर चुनावको तयारी गरिरहेका छन् । यसले मुलुकमा जनताको आवाजलाई स्थापित गर्न दल नै विकल्प भएको पुष्टि छ । कुलमान घिसिङ, हर्क साम्पाङदेखि दुर्गा प्रसाईसम्मले दल दर्ता गरेका छन् । लोकतन्त्रमा दलीय अधिकार छ । दल खोल्ने, निर्वाचनमा सहभागी हुने र जनमत प्राप्त गरेर सरकार बनाउने प्रक्रिया छ । जनमतका आधारमा सरकार बनाउने व्यवस्थालाई सबैले स्वीकार गर्नुपर्छ । त्यसका लागि गर्नेपर्ने मुल काम भनेको जनताको मन जित्ने नै हो । दलहरुलाई गाली गरेर त्यो आवाज क्षणिक गुञ्जिन सक्ला । तर, त्यस प्रकारको आवाज कालान्तरमा निरर्थक सावित हुनेछ ।
यहाँको समाजमा दलहरुलाई गाली गर्दा हाइहाइ भएको अनुभूति गरिरहेको पाइन्छ । दलमाथि गालीगलौचले निराशा फैल्याउने बाहेक केही परिणाम प्राप्त हुन सक्दैन । दलहरु भनेको ठुलो संगठन हो । यहाँ अनेक प्रकृतिका नेता कार्यकर्ताहरु हुन्छन् । सबैको व्यवहार सबैलाई उचित लाग्न सक्नदैन । त्यसलाई मात्र हेरेर मुल्याङकन गर्नु र गालीगलौचमा उत्रिनु बेक्कार छ । त्यसले कुनै पनि दलहरुलाई खास फरक पर्दैन । उल्टै, गालीगलौच गर्नेको बौद्धिकतामाथि समाजले हेरिरहेको हुन्छ । यसैले दललाई गाली गरेर भन्दा पनि कमिकमजोरीहरुलाई सुधार गर्न सूझाव दिनुपर्छ । दलहरुलाई सुधार गर्न योजनाहरु पेश गर्नुपर्छ । आम नागरिक, मतदाता हुनुको नाताले दलहरुलाई गलत बाटोमा जान नदिने दायित्व पनि छ । त्यसका लागि रचनात्मक सूझाव दिऔं । भ्रम र अफवाह फैलाएर भन्दा पनि दलहरुलाई ठिक बाटोमा हिडाउन मद्दत गरौं ।







प्रतिक्रिया