Banner news

कोशी प्रदेशमा मापसे जाँच प्रभावित, २५ थान ब्रेथलाइजर जल्यो

कोशी प्रदेशमा मापसे जाँच प्रभावित, २५ थान ब्रेथलाइजर जल्यो


बिर्तामोड । कोशी प्रदेशमा मादक पदार्थ सेवन (मापसे) जाँच प्रभावित भएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट ब्रेथलाइजर मेसिनमा क्षति पुगेपछि मापसे जाँच प्रभावित भएको हो ।

कोशी प्रदेशमा ६३ वटा मेसिनमध्ये २५ वटा आगजनी र तोडफोडका क्रममा क्षति पुगेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले बाँकी रहेको मेसिनबाट मापसे जाँच भइरहेको छ ।

२५ थान मेसिनमा क्षति पुगेपछि खरिदका लागि मन्त्रालय, स्थानीय तहसँग सहयोग माग्ने सूचना अधिकारी श्रेष्ठको भनाई छ । उनले कार्यालयसँग बजेटको व्यवस्था नभएका कारण सहयोग माग्नुको विकल्प नरहेको जानकारी दिए । मापसे जाँच नहुँदा त्यसबाट संकलन हुने राजश्व समेत संकलन हुन सकेको छैन ।

यता, झापाको काँकरभिट्टा र चारआली बाहेक जिल्लाका अन्य क्षेत्रमा मापसे जाँच बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्लाका ५ स्थानबाट सवारी चालकको मापसे जाँच गर्दै आएको थियो ।

झापा ट्राफिकले काँकरभिट्टा, चारआलीसहित बिर्तामोड, सुरुङगा र दमकमा मापसे जाँच गर्दै आएको थियो । जेनजी आन्दोलनका क्रममा बिर्तामोड, चारआली र दमकमा भएको ब्रेथलाइजर मेसिन आगजनीका क्रममा क्षति भएपछि तीन स्थानमा मापसे जाँच पूर्ण रुपमा बन्द भएको छ । अहिले २ वटा मेसिन छ, झापा ट्राफिकका प्रमुख सन्तोष राई भन्छन् – चारआली र काँकरभिट्टामा मात्रै जाँच भइहेको छ । माथिल्लो निकायलाई ब्रेथलाइजर मेसिनको अभाव भएको बारे जानकारी गराइएको छ ।

प्रमुख राईले अब चारआलीको मेसिन बिर्तामोडसम्म ल्याएर मापसे जाँचको काम अघि बढाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार ब्रेथलाइजर मेसिनकै अभावका कारण अन्य क्षेत्रमा जाँचको काम प्रभावित भइरहेको छ ।

शेयर गर्नुहोस :

270
Shares