Banner news

‘झापा ३ मा राप्रपालाई भोट दिनु परेकोमा पश्चाताप छ’

‘झापा ३ मा राप्रपालाई भोट दिनु परेकोमा पश्चाताप छ’


बिर्तामोड । झापा क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवारलाई भोट दिनु परेकोमा एमालेको कार्यकर्ता तहसम्म असन्तुष्टि छ । यो असन्तुष्टि सो क्षेत्रभित्र हुने एमालेका हरेक कार्यक्रममा पोखिने गरेको छ ।

‘राजेन्द्र लिङदेनलाई जिताएर पठाउने, जितेर गएपछि एमालेकै विरुद्धमा खनिने’ भएपछि एमालेका कार्यकर्ता तहमा आक्रोस अझै सेलाएको छैन । कार्यकर्ता तहले आक्रोस राखेपनि नेतृत्व तहबाट भएको निर्णयको पालना गर्न बाध्य उनीहरु अबको कुनै पनि निर्वाचनमा गल्ती नदोहो¥याउने अडानमा छन् ।

यहि प्रसंगलाई सोमवार एमालेका पुराना नेता, पार्टीका केन्द्रीय सल्लाहकार सदस्य हरिचरण शिवाकोटीले कडा ढंगले उठाए । सहिद प्रजापति सापकोटाको स्मृतिमा आयोजित कार्यक्रममा शिवाकोटीले राप्रपालाई भोट दिनु परेकोमा पश्चाताप व्यक्त गरे । म पश्चाताप गर्छु, यति ठुलो गल्ती भयो, उनले भने – मैले नेताहरुलाई कति धेरै सम्झाए । तर, नेता सम्झिएनन् । अब, तपाईहरुले त्यस्तो निर्णय मान्न हुदैन । फेरि गल्ती नगरौं ।

जनसांस्कृति महासंघ बाह्रदशी गाउँ कमिटीले आयोजना गरेको जनवादी सांस्कृतिक कार्यक्रमका मुख्य वक्ता रहेका शिवाकोटीले राजेन्द्र लिङदेनलाई समर्थन गरेर सांसद बनाउनु भारी गल्ती भएको स्वीकार गरे । उनले भने, मैले पार्टी अध्यक्षलाई ‘सर्पलाई विष नखुवाउनुहोस्’ भनेको थिए । त्यसै कारणले ३ नं. क्षेत्रमा एमाले कमजोर भएको हो ।

द्रोणाचार्य क्षेत्री, पुष्प पोखरेलले जितेको ठाउँमा लिङदेनलाई समर्थन गर्नु गल्ती भएको भन्दै आगामी दिनमा त्यस्तो गल्ती नगर्ने स्पष्ट बनाए । जलथल र हल्दिवारी तत्कालिन अञ्चलाधिशहरुको लगानी भएको, उनीहरुले बसोबास गराएको ठाउँ भएकाले राप्रपाको पकड भइरहेको उनको धारणा थियो । राजावादीहरुको पुरानो प्रभाव र एमालेको गल्तीका कारण तेस्रो शक्ति हुनुपरेकोमा दुख व्यक्त गरे । झापाको क्षेत्र नं. ३ मा कांग्रेस पहिलो, एमाले दोस्रो र राप्रपा तेस्रो थियो, उनले थपे – आफ्नै कारण अहिले तेस्रो हुनु परेको छ । मुख्य प्रतिष्पर्धा कांग्रेस एमालेको हुन्थो । अब, एमालेलाई जनताले पहिलो शक्ति बनाउन खोजेको उनको भनाई थियो ।

अबको निर्वाचनमा त्यस्तै गल्ती भएमा भोट नदिने, आफ्नै चुनाव चिह्नमा भोट दिन कडा निर्देशन नै दिए । शिवाकोटीको अभिव्यक्तिले राहत महसुस गरेका एमालेका सदस्य, समर्थक र शुभचिन्तकहरुले अब त्यस्तो दिन भोग्नु नपर्ने आशा गरेका छन् ।

झापा ३ मा एमालेले आफ्नै उम्मेदवार बनाएर जनताको बीच जानुपर्ने कार्यकर्ताको माग छ ।

शेयर गर्नुहोस :

10.4k
Shares