बिर्तामोड । अवैधानिक उपभोक्ता समितिले सदु पोखरीमा गरेको मनोमानीहरु थप खुल्न थालेका छन् ।
उपभोक्ता समितिका अध्यक्ष चन्द्रकुमार चुडालले भत्ताका नाममा माटो लगेको प्रमाण फेला परेको छ । उपभोक्ता समितिका अध्यक्षले भत्ता लिन पाउने व्यवस्था छैन । उक्त व्यवस्था नहुँदा पनि भत्ता वापत १५ ट्याक्टर माटो लगेको बिर्तामोड नगरपालिकामा बुझाइएको हिसावमा खुलाइएको छ ।
२०८० जेठ २० गते गरिएको हिसावमा १५ दिनको भत्ताका नाममा १५ ट्याक्टर माटो लगेको भेटिएको छ । जम्मा बाहिर गएको माटो ३१८२ ट्याक्टर रहेको उल्लेख गरिएको छ ।
०८१ बैंशाख १ गतेदेखि खनिएको पोखरी जेठ १६ मा सकिएको थियो । माटो विक्रीबाट मात्रै २१ लख ६६ हजार ५०० सय रुपैयाँको हिसाव नगरपालिकालाई बुझाइएको छ ।
सो हिसाव कागजमा बुझाए पनि पैसा जम्मा नभएको जनाइएको छ । वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले हरहिसाव चुक्ता गर्न दवाव दिदैं आएको जनाएका छन् । वडासहित गाउँलेले पोखरीमा भएको अपारदर्शी कामको भण्डाफोर सुरु गरेपछि समितिले नगरपालिकालाई माइन्यूट बुझाएको छ । पोखरीमा भएको अवैधानिक कामको छानविन सुरु गरिएको जनाइएको छ ।
यता, सदु पोखरी समेत भाडामा दिइएको छ । माटो निकाल्ने, भाडामा लगाउने कुनै पनि काम प्रक्रिया पुरा नभएको स्थानीयको आरोप छ । उपभोक्ता समिति र वडाबीचको मिलेमतोमा अवैधानिक काम भएको अधिकांशको बुझाई छ । माटो उत्खनन् र भाडामा लगाउने कामको प्रयोजनका लागि टेण्डर नै गर्नुपर्छ, एक जनप्रतिनिधि भन्छन् ।
विना दर्ता पोखरी उत्खनन्सँगै भाडामा लगाउने कार्यमा सक्रिय भएको उपभोक्ता समिति ३ वर्षअघि बनाइएको थियो । बिर्तामोड वडा नं. १० का अध्यक्ष दुर्योधन गुरुङले पोखरी मर्मत र संरक्षणका लागि बनाएको उपभोक्ता समितिको कामबाट आफै रुष्ट बनेका छन् । उपभोक्ता समितिको अवैधानिक कामले वडाध्यक्ष गुरुङमाथि दवाव बढेको छ ।







प्रतिक्रिया