काठमाडौं, मंसिर १०। नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनका नाममा देशका विभिन्न स्थानमा देखिएका अराजक गतिविधि नियन्त्रणमा लिन नेपाल प्रहरीले अघि बढाएको कारबाहीकाे प्रशंसा गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत उहाँले जनसेवामुखी भूमिकाका कारण प्रहरीप्रति जनविश्वास क्रमशः बढ्दै गएको धारणा राख्नुभएको हो ।पछिल्ला दिनहरूमा देशभर आगजनी, लुटपाट तथा तोडफोडमा संलग्न समूहविरुद्ध प्रहरीले तत्परता साथ नियन्त्रण कार्य अघि बढाइरहेको छ। ‘धन्यवाद नेपाल प्रहरीलाई, जेनजी आन्दोलनका नाममा देशैभर अराजकता, लुटपाट र आगजनी गर्नेहरू विरुद्ध कारबाही गरिरहेकोमा,’ उहाँले लेख्नुभएको छ।

उहाँले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्ममा उपलब्ध रहेका भिडियो तथा फोटोलाई आधार बनाएर सुरक्षा निकायले अझै धेरै संलग्न व्यक्तिहरू पहिचान गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
नेतृ झाँक्रीले आफ्नो परिवारसमेत अराजक समूहद्वारा निसाना बनाइएका घटनाबारे सार्वजनिक गर्दै ८३ वर्षका ससुराको जीवनभरको श्रमले बनेको घरमा आगजनी, तोडफोड र लुटपाट भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार त्यो घर केवल संरचना मात्र नभई ससुराको ‘सपना’ रहेकोले परिवारले ठुलो मानसिक पीडा भोग्नुपरेको छ।
उहाँले आफ्नो गाडी समेत लुटिने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनको दायरामा ल्याइने विश्वास व्यक्त गर्नुभएको छ। उपलब्ध दृश्य–श्रव्य प्रमाणका आधारमा दोषीहरू एक न एक दिन पक्राउ पर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ। ‘अब सामाजिक सञ्जाल र भर्चुअल प्लेट फर्ममा देखिएका फोटो र भिडियो को आधारमा, मेरा ८३ वर्षीय ससुरा बुबा जिन्दगी भरीको श्रमको मूल्य हामी करिब १९ जना परिवारको आश्रय स्थलमा (जुन घर मात्र थिएन मेरो ससुरा बुबाको सपना थियो) आगो झोस्न आउने, घर लुटपाट र तोडफोड गर्ने अनि मेरो गाडी लुटेर लाने हरामखोर लुटेराहरूलाई पनि एक न एक दिन पक्राउ गर्ने छ भन्ने विश्वास छ’, उहाँले लेख्नु भएको छ ।
प्रहरी मुख्यालयका अनुसार हाल विभिन्न स्थानमा अराजक गतिविधिमा संलग्न रहेको आशङ्कामा केही व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको छ। दृश्य–श्रव्य प्रमाणहरूको डिजिटल विश्लेषणमार्फत पहिचान कार्यलाई पनि तीव्र बनाइरहेको प्रहरीको भनाइ छ।







प्रतिक्रिया