Banner news

कृषिथोकमा आउँदैन ‘ओरिजिनल’ आलुको बीउ, रोजाईमा लालगुलाव

कृषिथोकमा आउँदैन ‘ओरिजिनल’ आलुको बीउ, रोजाईमा लालगुलाव


प्रदीप परियार

बिर्तामोड । झापामा धान थन्काएका किसान अहिले आलु रोप्नमा व्यस्त छन् । कात्तिक मंसिरमा धान काटेपछि यहाँका किसानले दलहन, हरियो तरकारीसँगै आलु, प्याज, लसुन रोप्ने गरेका छन् ।

अधिकांश किसानले घरमा खानलाई र व्यवसायिक कृषकले विक्रीका लागि आलु खेति गर्दै आएका छन् । खेतिका लागि झापाका किसानले आलुको बीउमा भारतसँगै निर्भर हुनुपरेको छ । बिर्तामोडस्थित बोलबम आलु भण्डारले भारतबाट आयात गरिएको बीउ किसानलाई विक्री गर्दै आएको जनाएको छ ।

आलु भण्डारका सञ्चालक लक्ष्मण शाहले भारतकोे कानपुरबाट आउने लालगुलाव जातको बीउ सबैको रोजाईमा परेको जानकारी दिए । कानपुर र लालगुलाव जातका आलुको बीउ विक्री गरिरहेका शाहले भने – लालगुलाव जातको आलु ८० प्रतिशत किसानको रोजाईमा पर्ने गरेको छ । भारतबाट आयात गरिएको आलुको बीउको गुणस्तर कतै जाँच नहुने उनको भनाई छ । सस्तो भएका कारण किसानले लालगुलाव रोजेको बुझिएको छ । आलुको ‘ओरिजिनल’ विऊ यहाँ नआउने व्यापारीको भनाई छ ।

झापा र पहाडी जिल्लाका किसानलाई लालगुलाव जातको आलुको बीउ विक्री गरिरहेको सो भण्डारले कृषिथोक बजारबाट हप्ताको ५ ट्रक बीउ किसानले लगिरहेको जनाएको छ । पुस १५ सम्म विक्री गरिने सञ्चालक शाह बताउछन् ।
उनका अनुसार खाने आलु बंगलादेश, भारत, काठमाडौं, पहाडी जिल्ला र विरगञ्जबाट आयात हुने गरेको छ । खानका लागि सबैभन्दा धेरै भारतबाट आयात हुने गरेको जनाइएको छ ।

बिर्तामोडस्थित कृषिथोकमा अर्जुनधारा– ५ गिरी गाउँकी सरिता चुडाल आलुको बीउ छान्दै गर्दा भेटिइन् । उनले गत वर्ष १५ केजी लालगुलाव जातको बीउ रोप्दा राम्रै उत्पादन भएको प्रतिक्रिया दिइन् । १५ केजी बीउ रोप्दा ५ मन फल्यो, राम्रै फलेपछि त्यै बीउ लिन आएको हुँ, उनले भनिन् – अघिल्लो वर्ष मिसिएको परेछ । अलिअलि कुहियो । किन यसपाली पनि लालगुलाव लैजादैं हुनुहुन्छ भन्ने जिज्ञासामा जवाफ दिदैं चुडालले भनिन्, पोहोर राम्रो फल्यो, त्यसैले । उनले परम्परागत तरिकाबाटै आलु रोप्ने गरेको बताइन् ।

अर्जुनधारा –६ कि निरकला श्रेष्ठलाई आलुको बीउबारे धेरै कुरा थाहा छैन । उनले पनि किन्दै गरेको देखेर आएको बताइन् । आलुको प्रजाति थाहा छैन, उनले थपिन् – अरुले किनेको देखेर यहि (लालगुलाव) छाने ।
लालगुलाव जातको आलु खाने आलुबाटै बीउ छानिएको जानकारहरु बताउँछन् । त्यसमा टुसा उमारेर बीउको रुपमा विक्री गर्न थालिएको २-३ वर्ष भयो । नेपालमा विक्रीका लागि अघिल्लो वर्ष सूचिकृत भएको लालगुलाव सबैको रोजाईमा पर्ने गरेको छ ।

अर्जुनधारा–६ का युवराज काफ्लेले कानपुर जातको ४० केजी आलुको विऊ रोपेको जानकारी दिए । गत वर्ष लालगुलाव रोपेका काफ्लेले यो वर्ष विऊ परिवर्तन गरेको बताए । रोग कम लाग्ने, ठिक्कका दाना लाग्ने भएकाले कानपुरको विऊ लगाएको उनको भनाई छ । उनले भने, मैले छिट्टै रोपेका कारण उम्रिसक्यो ।

घरमा खानका लागि लालगुलाव ठिकै भए पनि व्यवसायिक किसानले उन्नत जातको बीउ प्रयोग गर्ने बिर्तामोड नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरियाले जानकारी दिए । उनका अनुसार लालगुलाव आलुको विउ नै होइन । तर, नेपालमा यसको प्रयोग धेरै भएको उनको दावी छ ।

बिर्तामोडका किसानले समूह बनाएर नै आलुको विऊ उत्पादन गरेको कडरियाको भनाई छ । यहाँका किसानले एमएस र कार्डिनल जातको बीउ उत्पादन गरेर विक्री गरेको उनको भनाई छ । आलु रोप्ने किसान सोधपुछका लागि कमै मात्रामा आउने कडरिया बताउँछन् । कसरी रोपिन्छ भन्ने जानकारी लिन आउनेको संख्या न्यून रहेको बताए । कतिपय किसानले फोनबाट मल खाद्यको प्रयोग कसरी गर्न सकिन्छ भन्ने सोध्ने गरेको कडरियाले बताएका छन् ।

शेयर गर्नुहोस :

405
Shares