काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले दिए निवेदन दिएका छन् । १२० दलभित्र संयुक्त चुनाव चिह्नमा चुनाव लड्ने दलहरू पनि रहेका छन् ।
निर्वाचन आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाप्रमुख यज्ञ प्रसाद भट्टराईका अनुसार प्राप्त निवेदनमाथि आयोगले अध्ययन गरेर निर्णय दिनेछ ।
अध्ययनका क्रममा दलको संख्या सामान्य रुपमा हेरफेर समेत हुन सक्ने उनले बताए । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो। तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप गरेको थियो ।
थप गरिएको समयभित्र १२० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका राजनीतिक दलले आगामी २१ फागुनको चुनावमा भाग लिन पाउनेछन् ।
गत ४ मंसिर २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ८४ दलले चुनाव लडेका थिए । यसपटक चुनाव लड्न चाहने दलको संख्या बढेर १२० पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगको स्वीकृत कार्यतालिका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र एकल चुनाव चिन्ह प्रयोग गर्नका लागि प्राप्त भएका निवेदनहरू उपर जाँचबुझ गरी योग्यता पुगेका दलहरूलाई यही मंसिर २० गतेसम्ममा आयोगबाट स्वीकृति प्रदान गरिनेछ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी माघ ६ गते निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गतेलाई तय भएको छ । माघ ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय हुनेछ र सोहीदिन उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते उम्मेदवारलाई नाम फिर्ता लिन चाहे समय दिइनेछ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ। यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मंसिर २० गतेदेखि सञ्चालन हुनेछ । कार्यक्रम अनुसार मंसिर २१ गते समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्नुपर्ने हुन्छ ।
निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली मंसिर २४ गते प्रकाशन हुनेछ । आगामी १३ र १४ गते राजनीतिक दलहरूले समानुपातिक निर्वाचनमा उम्मेदवारको बन्दसूची पेश गर्ने र माघ २० गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
स्वीकृत निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि वेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।







प्रतिक्रिया