बनियानी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपैयाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । आयातको तुलनामा निर्यात आधामा सीमित छ ।
यति मात्र होइन, पछिल्लो समय देशमा कुकुर र बिरालोको खाना निर्यातमा एकाएक ३३ प्रतिशत वृद्धि भएको छ । चालु आवको चार महिनामै ३७ करोड ९९ लाख १२ हजार रुपैयाँको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
गत आवको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४.१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।
अलैँची निर्यात दोब्बर बढीले वृद्धि भएको छ । ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४१ लाख ३२ लाख रुपैयाँले बढी हो । चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो ।
प्लाइउड निर्यातमा ५२.७ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिक मसान्तसम्ममा १ अर्ब २५ करोड ७२ लाख ५९ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएकामा चालु आवको सोही अवधिमा ५९ करोड ५० लाख १८ हजार रुपैयाँको मात्र निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा ६६ करोड २२ लाख ४१ हजार रुपैयाँले कमी हो ।
यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ । गत आवमा १६ करोड ४५ लाख १२ हजार रुपैयाँको निर्यात भएकोमा चालु आवमा ३८ करोड ६२ लाख ६८ हजार रुपैयाँको निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा २२ करोड १७ लाख ६८ हजार रुपैयाँले बढी हो ।
अम्रिसो निर्यातमा २३.९ प्रतिशतले गिरावट आएको छ । २६ करोड २५ लाख ६३ हजार रुपैयाँ बराबरको अम्रिसो निर्यात भएको छ । अदुवा र सुठो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको छ । २४ करोड २४ लाख १६ हजार रुपैयाँ बराबरको अदुवा र सुठो निर्यात भएको छ । काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भने ३६.१ प्रतिशतले वृद्धि भएको छ । चालु आवमा ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ बराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ । ९ करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ५७ लाख १३ हजार रुपैयाँ बराबरको मुसुरो दाल निर्यात भएको थियो ।
चालु आवमा ३ करोड ७८ लाख ८३ हजार रुपैयाँ बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ । फलामे पाता निर्यात ९७.३ प्रतिशतले गिरावट आएको छ ।







प्रतिक्रिया