झापा । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा आयोजना गरेको पहिलो कार्यक्रम कमजोर सहभागिताका बीच सम्पन्न भएको छ । प्रमुुख अतिथि बोल्ने समयमा सहभागी मात्र होइन, कार्यसमितिका मान्छेहरु नै गइसकेका थिए ।
संघले ४४ औं वार्षिकोत्सव मनाउन आयोजना गरेको कार्यक्रम खाली कुर्सीलाई सम्बोधन गर्दै सकिएको छ । सुरुमा सहभागिता राम्रै भए पनि अतिथिहरु बोल्न थालेपछि कुर्सी खाली भएको थियो ।
अतिथिका रुपमा सहभागी झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईले हल खाली भएको प्रसंगमा आफ्नो भनाई समेत राखेका थिए । उनले संघ स्थापना भएको ४४ औं वर्षमा व्यवसायीहरुलाई शुभकामना दिन आए पनि कुर्सी खाली भएकोमा दुख व्यक्त गरेका थिए । निमित्त प्रजिअ प्रसाईले कार्यक्रम समयमा सुरु नगर्दा पनि व्यवसायीहरु कार्यक्रम अवधिभर नबसेको टिप्पणी गरे । उनले आगामी दिनमा यस्ता प्राविधिक समस्याहरुको समाधान गर्नुपर्ने सूझाव दिए ।

कार्यक्रम ढिलो सुरु भएपछि धेरै सहभागीहरु पालैपिलो बाहिर निस्किदै हिडेका थिए । कार्यक्रम ढिलो र परम्परागतशैलीमै भएको कतिपय सहभागीहरुको टिप्पणी थियो ।
केही व्यवसायीहरुले व्यापारीहरुको कार्यक्रम सोमवारका दिन आयोजना नगर्दा कमजोर उपस्थिति भएको प्रतिनिक्रिया दिए । हलमा अति न्यून उपस्थितिका बीच प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सम्बोधन गरेका थिए ।
सो कार्यक्रममा देखिएको न्यून सहभागिताबारे कार्यसमितिका एक सदस्य भन्छन्, कार्यक्रम आयोजना गर्दा सामूहिक निर्णय, सबैको साझा अपनत्व हुनुपर्छ । एकलौटी सबै गर्ने जस्तो गर्दा पनि समस्या आएको हुन सक्छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरीया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरिएको छ । संस्थापक अध्यक्ष स्व. जलानको सम्मानपत्र उनका छोरा सजनकुमार जलानले ग्रहण गरे ।

सो अवसरमा ‘द भ्वाइस किड्स सिजन ४’ का फस्र्ट रनरअप तथा बेस्ट परफर्मर स्मयन बजगाई र ‘सारेगमप लिटल च्याम्स सिजन २’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुर्भूज सरीया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथि ढकालले संघले पहिलो पटक भव्य रूपमा स्थापना दिवस मनाएकोमा अध्यक्ष न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै जेनजी आन्दोलनका कारण व्यवसायीको मनोदशा कमजोर बनेको उल्लेख गरेका छन् ।
उनले अहिलेको युवा पुस्ताले चाहेका उद्योग व्यवसाय खोल्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले आर्थिक नीति एकैढंगले निर्धारण गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा केक काटेर खुशीयाली बाँडिएको थियो ।







प्रतिक्रिया