Banner news

‘देश बर्बाद भएको छैन, सबैले इमान्दार पूर्वक काम गरौं’

‘देश बर्बाद भएको छैन, सबैले इमान्दार पूर्वक काम गरौं’


बिर्तामोड । वीरता जेसीजको आयोजनामा आज झापामा राष्ट्रियस्तरको छलफल भएको छ । वीरता जेसीज वर्ष २०२५ को आयोजनामा संकटपछिको अर्थतन्त्र : अवसर र चुनौती विषयक छलफल गरिएको हो ।

सो छलफललाई प्यानल डिस्कशनका रुपमा सञ्चालन गरिएको थियो । त्यसअघि प्रमुख अतिथि सभामुख देवराज घिमिरे, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, व्यवसायी उदय चापागाई, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरी लगायतले धारणा राखेका थिए ।

प्यानल डिस्कशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल र राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भएका थिए । प्यानल डिस्कशनको सहजीकरण पत्रकार राजेन्द्र बानियाँले गरेका थिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका व्यावसायीहरु, जेसी युवाहरु, उद्योगी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमममा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले युवाहरुको विश्वास जितेर मुलुकलाई सहि दिशामा अघि बढाउन जरुरी रहेको बताए । निराशा र भ्रम फैलाएर देशमा केहि नभएको भाष्य चिर्दे विश्वास जितेर अघि बढ्न आग्रह गरेका छन् । उनले सामाजिक, राजनीतिक क्षेत्रबाट देशको अर्थतन्त्रलाई माथि उठाउन नीजि क्षेत्रको मनोवल उच्च बनाउन सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । प्रमुख अतिथि घिमिरेले मुलुक आर्थिक विकासका हिसावले पनि सकारात्मक परिणाम आइरहेको बेला विध्वंशको सामना गर्नुपरेको बताए । उनले भने – ‘विगतलाई फर्केर हेर्दा देशको अवस्था भयावह थियो, अहिले तुलानात्मक हिसावले धेरै प्रगति भएको छ । विकास भएको छ ।’ आर्थिक विकासको दर पनि वृद्धि भइरहेको थियो, उनी भन्छन्, अब अविश्वास र आतंकलाई अन्त्य गर्दै नयाँ अवसर सिर्जना गर्नुपर्छ । संकटपछिको अर्थतन्त्रलाई बलियो बनाउन राजनीतिक स्थिरता अपरिहार्य रहेको उनको भनाई थियो ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक सञ्जालमा सुनेजस्तो देश बर्बाद नभएको स्पष्ट पारेका छन् । देश बर्बाद भएको छैन, हामीले भनेजति प्रगति नभएको हुन सक्छ, उनले भने – अरुलाई दोष देखाएर हुँदैन । हामी आफैले गरेर देखाउन सक्नुपर्छ । सबै गल्ती आफू गरेर राजनीतिलाई मात्र दोष देखाएर नहुने उनको तर्क थियो । दलहरुले गरेको प्रतिवद्धता पुरा नहुँदा दलहरुमाथि आक्रोस पोखिएको उनको भनाई थियो । कार्यक्रममा उनले विद्युत उत्पादन, गरिवीदर , प्रतिव्यक्ति आय, सडक विस्तार, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको विवरणले देश बर्बाद नभएको स्पष्ट हुने बताए ।

राजनीतिक दलहरुले जनता समक्ष गरेको प्रतिवद्धता पुरा नगरेको उनको भनाई छ । सबै क्षेत्रमा कमजोर देखाउने प्रचलन छ, उनले भने – दलहरुमा कमजोरी देखाइदैन, त्यसैले दलहरु आफ्नो प्रतिवद्धताबाट चुकिरहेका छन् । कार्यक्रममा बोल्दै ज्ञवालीले देशमा साना ठुला उद्यमका लागि लगानीको राम्रो वातावरण भएको पारे । उनले अझै डेढ वर्ष व्याज वृद्धि नहुने बताउँदै लगानीको राम्रो योजना ल्याएर व्यवसायीहरुलाई काम गर्न सूझाव दिए । अहिले बैंकहरुले न्यूनतम व्याजमा लगानी गरिरहेको स्मरण गर्दै ज्ञवालीले नमूना परियोजनाहरु सञ्जाल गर्न आग्रह गरेका हुन् ।

‘सकिएन, गर्दिन, बर्बाद भयो भन्ने माइनसेट बनाएर हुदैन, उनले भने – कुशल उद्यम व्यवसायको क्षेत्रमा योजना बनाएर काम गर्नुहोस् । परियोजनाका आधारमा न्यूनतम व्याजदरमा कर्जा पाइन्छ । त्यसको सदुपयोग गरेर काम गर्नुहोस् ।
देशको समस्या राजनीतिक अस्थिरता भएको उनको भनाई छ । राजनीतिक अस्थितरका कारण विचौलियाको प्रवेश भएको ज्ञवालीले दावी गरेका छन् । सरकार, प्रशासन नै अस्थिर भएका कारण नागरिकले त्यसको प्रत्यक्ष असर भोग्नुपरेको छ, उनी भन्छन् – देशले अस्थितरताबाट निकाश पाउनैपर्छ ।

उनले जताततै गाली गर्नेहरुले बोलेका कारण वास्तविक सूचकहरु बाहिर आउन नसकेको धारणा राखे । सरकार र सरकारमा भएका राम्रा मान्छेहरुले सूचक बारे बोल्दैनन्, मिडियाले पनि गाली गर्नेहरुलाई नै स्पेस दिएका कारण बर्बाद भएको भन्ने चर्चा धेरै हुन्छ ।

देशलाई गज्जब बनाउन विभिन्न भूमिकामा रहनेहरुले इमान्दार पूवर्क काम गर्नुपर्ने धारणा राखेका छन् । आफ्नो भूमिकालाई न्याय गर्ने हो भने देशमा संभावना धेरै छ, उनले भने । द्वन्द्व, भूकम्प, जेनजी आन्दोलनबाट तत्कालै लयमा फर्किएको उदाहरण दिदैं ज्ञवालीले पर्यटन क्षेत्रको विकासमा लाग्र्नुपर्ने सूझाव दिए । अरुलाई दोष लगाउनुभन्दा आफ्नो भूमिकालाई न्याय गरे नगरेको ख्याल गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा उनले व्यापारीहरुलाई देशमा सम्मानको खाँचो जरुरी रहेको बताए । नीजि क्षेत्रलाई राज्यले नै संरक्षण गर्नुपर्ने बताए । व्यापारीहरुलाई ‘चोर’ भनेर, अपमानित गरेर हुदैन, व्यापारीलाई सबै क्षेत्रमा सम्मान गर्नुपर्छ । राज्यलाई कर तिर्नेहरुलाई उच्च सम्मान गर्नुपर्छ ।

अर्का व्यवसायी उदय चापागाईले नेपालका लागि कृषि,पर्यटन र जलस्रोत मेरुदण्ड भएको बताएका छन् । उनले नेपालमा हिमाल देखाएर पनि डलर भित्राउन सकिने बताए ।

उनले सरकारले साथ पनि नदिएको, सहयोग पनि नगरेकोमा दुख व्यक्त गरे । अन्य राष्ट्रमा निजी क्षेत्रलाई सरकारले साथ, सहयोग गर्ने गरेको सुनाए । विश्वका धेरै देश पुगेको बताउँदै उनले नेपालमा जस्तो अवसर अन्त कतै नभएको बताएका छन् । नेपाल ‘मणि’ भएको देश हो, तर कसैले चिन्न सकेन, उनले भने – सरकारले सहयोग नगर्दा निजी क्षेत्र समस्यामा छ ।
व्यानल डिस्कशनमा व्यवसायीका समस्या र बैंकिङ क्षेत्रबाट भएका अप्ठ्याराहरुका बारेमा छलफल भएको थियो । व्यवसायीहरुका समस्याका बारेमा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकालले धारणा राखेका थिए भने डेपुटी गभर्नर मिश्रले बैंकले दिएको सुविधाका बारेमा धारणा राखे ।

व्यवसायीलाई संरक्षण गर्ने कि पलायन गर्ने, कर्जा प्रवाहमा सहजीकरण नभएको, व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति नभएको, युवालाई रोजगारी सिर्जना गर्नुपर्ने, सहुलियत कर्जाका समस्या लगायतका विषयहरुमा छलफल भएको थियो । नेपालमा क्रिप्टोलाई वैधानिकता किन नदिएको जस्ता जिज्ञासा राखिएको थियो ।

व्यवसायीहरुले जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरुलाई कारबाही हुनुपर्ने धारणा राखेका थिए ।
वीरता जेसीजका अध्यक्ष युवराज कुँवरले संकटपछिको अर्थतन्त्र : अवसर र चुनौती विषय कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरी, नेपाल पत्रकार पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

1.1k
Shares