मुख्य समाचार

निर्माण व्यवसायी संघ झापाद्वारा न्यानो कपडा वितरण

निर्माण व्यवसायी संघ झापाद्वारा न्यानो कपडा वितरण


रोहित काफ्ले

भद्रपुर । निर्माण व्यवसायी संघ झापाले १८ औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा विरण गरेको छ ।

संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र कनकाई नगरपालिका लक्ष्मीपुस्थित हिमाली आधारभूत विद्यालयमा अध्ययनरत अपाङगता भएका विद्यार्थीहरुलाई न्यानो ट्रयाकसुट वितरण गरेको हो ।

संघका अध्यक्ष रमेश अधिकारी, निवर्तमान अध्यक्ष मिलन बस्नेत, प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सहकोषाध्यक्ष सुरेन्द्र धिमाललगायत पदाधिकारी – सदस्यहरुले सोमवार विहान ती विद्यालयमा पुगेर न्यानो कपडा वितरण गरेका थिए । न्यानो कपडा वितरण कार्यक्रममा झापाका निर्माण व्यवसयीहरुको उल्लेख्य सहभागिता थियो ।

अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा १६ र हिमाली आधारभूत विद्यालयमा २१ जनालाई ट्रयाकसुट वितरण गरिएको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।

निर्माण व्यवसायी संघ झापाले विगतदेखि नै व्यावसायिक हकहितका क्रियाकलापसँगै सामाजिक कार्यहरुलाई पनि प्राथमिकताका साथ निरन्तरता दिँदै आएको बताउँदै संघका अध्यक्ष रमेश अधिकारीले आर्थिक रुपमा कमजोर र असहाय वर्गका अपांगता भएका बालबालिका अध्ययन गर्ने विद्यालय छानेर यस वर्ष न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।

संघले निर्माण दिवस मनाउने सन्दर्भमा निर्माण क्लवको संयोजनमा कनकाईस्थित धनुषकोटीधाममा वनभोजसमेत आयोजना गरेको थियो । वनभोजस्थलमा अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित औपचारिक समारोहको प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनप्रसाद अधिकारीले उद्घाटन गरेका थिए । क्लवका संयोजक डम्बर फुँयलले स्वागत र सदस्य हेडम्बराज निरौला सञ्चालन गरेको समारोहमा महासचिव पुष्पराज निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

सो अवसरमा प्रमुख अतिथि अधिकारीले केही वर्षयता निर्माण व्यवसायीहरु पीडामा रहे पनि सामाजिक सेवाकार्यमा सधैँ क्रियाशील रहने गरेको बताए । उनले सिथिल अर्थतन्त्रलाई उकास्दै विकास–निर्माणका गतिविधिलाई तीव्र रुपमा अघि बढाउन सरकारसँग आग्रह पनि गरे ।

सो अवसरमा मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता पनि आयोजना गरिएको थियो । त्यहाँ हण्डी फुटाइ, म्युजिकल चेयर, छेलो फ्याँक्ने खेल सञ्चालन गरिएको संघका सदस्य दिनेश मैनालीले जानकारी दिए ।

शेयर गर्नुहोस :

81
Shares