Banner news

झापाका तीन पत्रकार टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार पुरस्कृत

झापाका तीन पत्रकार टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार पुरस्कृत


‘पत्रकारबाटै मिडिया क्षेत्र खतरामा छ’

बिर्तामोड । झापाका तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । मंगलवार अन्तरराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पुरस्कार प्रदान गरेको हो ।
टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकार इन्दु पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जीवी घिमिरे पुरस्कृत भएका छन् । उनीहरुलाई नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले नगद र सम्मानपत्रले सम्मान गरेका हुन् ।

हेम सरिता फाउन्डेसन अमेरिकासँगको सहकार्यमा भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने र पत्रकारितामार्फत सुशासनका लागि महत्वपूर्ण योगदान पु¥याउने पत्रकारलाई हरेक वर्ष रु ५० हजार ५५५ राशिको पुरस्कार वितरण गर्दै आएको छ ।

महासंघले यस वर्षको रु ५० हजार ५५५ राशिको पुरस्कारबाट चिरञ्जीवी घिमिरेलाई सम्मान गरेको छ भने गत २०८१ को पुरस्कारबाट पूर्वेली र भण्डारी रु २५ हजार २२५ राशिका दरले सम्मानित गरेको हो । यसअघि सो पुरस्कारबाट राजबाबु शङ्कर पुरस्कृत भएका थिए । पुरस्कारका लागि रु पाँच लाख पाँच हजारको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष महासंघले पुरस्कार वितरण गर्दै आएको छ ।

यसैगरी लैङ्गिक हिंसाविरुद्ध कलम चलाउने जोस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई महासंघले नगद पाँच हजारका दरले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि काउन्सिलका अध्यक्ष आचार्यले प्रेस जगतप्रति उच्च सम्मान रहेका बताएका छन् । उनले आफू विकृति विसंगति विरुद्ध लढ्न आएको बताउँदै काउन्सिलमा रहेर कसैको दवावमा गलत काम नगर्ने बताए । काउन्सिलको नियम बमोजिम पत्रकारिता क्षेत्रको हितमा रहेर योगदान गर्ने उनको योजना रहेको धारणा व्यक्त गरे ।

प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारहरुले आचारसंहिता पालनालाई ख्याल गर्न आग्रह गरेका छन् । पत्रकारहरुले आचारसंहिता कार्यान्वयन नगरे मिडिया क्षेत्र नै प्रभावित हुने उनको भनाई थियो । पत्रकारले नै मिडिया क्षेत्र जोगाउने हो, उनले भने – मिडिया क्षेत्रमा कतैबाट खतरा छ भने पत्रकारबाटै खतरा छ ।

भुसालले काउन्सिलको कार्यक्षेत्रबाट प्रदान हुने कुनै पनि सेवाका लागि सधैंव सहजै सहजीकरण गर्न तयार रहेको बताएका छन् ।

कार्यक्रममा पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्का, पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, पुरस्कृत पत्रकार घिमिरे लगायतले धारणा राखेका थिए । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुव्रत न्यौपानेले गरेका थिए भने सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

शेयर गर्नुहोस :

540
Shares