बिर्तामोड । भारतबाट अवैध रुपमा माछाको आयात बढिरहेको छ । माछाको अवैध आयात बढिरहेको बेला मंगलवार ताप्लेजुङमा सशस्त्र प्रहरीले ६३० केजी माछा नष्ट गरेको छ । बिर्तामोडबाट ताप्लेजुङ पठाइएको माछा सशस्त्र प्रहरीले नष्ट गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बिलमा उल्लेख भए अनुसार फरक प्रजातिको मरेका फेला परेपछि नष्ट गरिएको जनाइएको छ । प्राप्त सूचना अनुसार स्थानीय माछामा भारतबाट आयात गरिएको अवैध माछा मिसाएको फेला परेको थियो । बिर्तामोडका माछा सप्लायर्सले अवैध माछा मिसाएका कारण बिलमा माछाको प्रजाति फरक परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान ११ः२० बजे कनकाई नगरपालिका–३ सवडिभिजन वन कार्यालय नजिकै बाटो छेउमा ४१७ केजी माछा बरामद गरेको थियो । झापा गाउँपालिकाबाट सवारीसाधनमा हालेर सुरुङ्गातर्फ लैजाने क्रममा प्रहरीले अन्दाजी मूल्य एक लाख ५० हजारको मुङ्ग्री, सिलन, रहूँ र बम्प्लेट जातका माछा बरामद गरेको हो । बरामद गरिएको माछामध्ये मुङ्ग्री माछा नेपालमा प्रतिबन्धित हो । बरामद गरिएको माछाको कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापा परिसरमा नष्ट गरिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
झापाका किसानले भारतबाट आउने अवैध माछा नियन्त्रण गर्न माग गरेका छन् । भारतबाट अवैध रुपमा भित्रिने माछाका कारण स्थानीय माछा विक्री नभएको किसानको भनाई छ ।
भारतबाट अवैध रुपमा भित्रिएको माछा व्यापारीले सस्तो मुल्यमा खरिद विक्री गर्ने गरेको किसानहरुको भनाई छ । झोलामा भित्राइने माछालाई फेरि क्यारेटमा आइससहित प्याकेजिङ गरेर व्यापारीहरुले विक्री गर्ने गरेको जनाइएको छ । स्थानीय किसान भारतबाट भित्रिने अवैध माछाकै कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको नेपाल मत्स्य विकास संघ कोशीका अध्यक्ष लक्ष्मी शिवाकोटीले जानकारी दिए । उनका अनुसार भारतबाट अवैध रुपमा माछा भित्राएर सस्तोमा विक्री गरिन्छ । स्वस्थ्यकर माछा भन्सार गरेर आएमा कुनै समस्या छैन, उनले भने , अवैध माछाका कारण यहाँ धेरै समस्या भइसक्यो । अवैध माछा धेरै भित्रिएका कारण स्थानीय किसानको माछालाई मुल्य नै दिएका छैनन् । यहाँका किसानले महंगोमा पानी र विद्युत खरिद गर्नु परेको छ । शिवाकोटी भन्छन्, व्यापारीले गर्दा स्थानीय किसान मार्कामा परे ।
झापा गाउँपालिका– १ स्थित लसुना र रसुनगञ्ज नाका भएर त्यहाँका कारोबारीले ठूलो मात्रामा माछा भित्राइरहेको बुझिएको छ । प्रहरीका अनुसार उनीहरूले माछाको कार्टुन भारतीय सीमामै खोलेर झोलाका झोला माछा मोटरसाइकलमार्फत नेपाल भित्राएर भण्डारण गर्छन् । भण्डारण गरेका माछा ट्याम्पो तथा पिकअपमा हालेर सुरुङ्गा र बिर्तामोडका बजारसम्म ल्याउने गरेका छन् ।
गत कात्तिक १० गते पनि भारतीयबाट भित्राइएको माछाको विषयमा झापा गाउँपालिमा विवाद भएको थियो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको मिलेमतोमा भित्राइएको माछाको कार्टुनले भरिएको एउटा पिकअप भ्यान स्थानीय युवाहरूले नियन्त्रणमा लिएका थिए ।
प्र.१–०१–००२ च ०६५२ नम्बरको महेन्द्रा कम्पनीको पिकअप भ्यान स्थानीयले नियन्त्रणमा लिए पनि इलाका प्रहरी कार्यालय कुमरखोदका सादा पोसाकका प्रहरी सहायक हवल्दार विकास घिमिरेले भ्यान भगाएपछि विवाद उत्पन्न भएको थियो । झापा गाउँपालिका–२ नरिवल टोलाका युवाहरूले माछा तस्करको भ्यानलाई रोकेपछि तस्कर समूहलाई संरक्षण गर्दै प्रहरीले नै उल्टै विवाद बढाएको त्यसबेला नै युवाहरू बताएका थिए ।
५५ देखि ६० कार्टुन रहेको पिकअप भ्यानमा १९ कार्टुन माछा थियो । भ्यानको माथि खाली र तल माछा भरिभराउ कार्टुन थियो । त्यहाँबाट भगाएका पिकअप बिर्तामोड पुगी त्यहाँ एउटा माछा पसलमा काटुर्नबाट सबै माछा खाली गरेका थिए । माछा खाली गरेपछि सबै खाली कार्टुन रहेको भन्दै पुनः इलाका प्रहरी कार्यालय कुमरखोदमा ल्याएका थिए ।
यता झापा गाउँपालिका नभएर मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीका नाकाहरूबाट पनि व्यापक माछा तस्करी भइरहेको छ । स्थानीय सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दैनिक ३० देखि ५० कार्टुन माछा नेपाल भित्रिरहेको स्रोतको दाबी छ । धुलाबारीका एक कारोबारीले सो नाकाबाट माछा नेपाल भित्राइरहेका छन् ।
झापाका माछा व्यापारीहरुले किसानले मुल्य वृद्धि गरेका कारण आफूहरु मारमा परेको दावी गरेका छन् ।







प्रतिक्रिया